मंगलबार, जेठ ८ गते २०८१

रचनात्मक सीमालाई भत्काउने नाटक ‘लेट्स अभिनय गरौं’

रचनात्मक सीमालाई भत्काउने नाटक ‘लेट्स अभिनय गरौं’

अखबार दैनिक
बुधबार, असार १३ २०८०
  • रचनात्मक सीमालाई भत्काउने नाटक ‘लेट्स अभिनय गरौं’

    काठमाडौं । गत बुधबार कौसी नाटकघरका सदस्यहरु थिएटरको परिसर सजाउँदै थिए । रंगमञ्च वरपर अर्कै ऊर्जा थियो । थिएटरको पाँचौं वार्षिकोत्सव मनाउन उपस्थित सबै उत्साहित भएकाले हर्षोल्लासको वातावरण थियो । नवनिर्मित स्टुडियोको सुरुवात गर्दा उनीहरुको उत्साह नयाँ उचाइमा पुगेको देखिन्थ्यो । यो मेसोले नाटक मञ्चनमा भव्यता थप्यो । यो अवसरलाई अझै उत्साह थप्न सुदाम सिके निर्देशित नाटक ‘लेट्स अभिनय गरौं’ नाटक मञ्चन गरियो ।

    images

    ‘लेट्स अभिनय गरौं’ एउटा बहुआयामिक नाटक हो, जसले देशको सामाजिक-आर्थिक पक्षले युवालाई विभिन्न तरिकाले कसरी असर गर्न सक्छ भन्ने देखाउँछ । नाटकले यस विषयलाई कलात्मक चुस्तताका साथ दर्शकमाझ प्रस्तुत गर्छ ।

    नाटकले नेपाली युवाको वर्तमान अवस्थालाई चित्रण गर्छ । यसले युवाको आवाजलाई फैलाउन मद्दत गर्छ जो आफ्नो जीवनको विभिन्न चरणसँग गुज्रिएका छन् । कोही विदेशमा अवसर खोजिरहेका छन् । कोहीले बेरोजगारी संकटको सामना गरिरहेका छन् र कसैले पर्याप्त वेतन नपाएको गुनासो गरिरहेका छन् ।

    यी सान्दर्भिक अनुभवलाई सम्बोधन गर्दै नाटकले दर्शकलाई आफ्नो दैनिक जीवनमा सामना गर्ने कथावस्तुमा प्रकाश पार्छ । नाटकमा कलाकार क्रमशः मञ्चनको केन्द्रमा केन्द्रित हुन्छन् र संघर्षका भावनालाई प्रस्तुत गर्छन् ।  गुनासो जारी छ र यसरी नै ‘लेट्स अभिनय गरौं’ नाटकको पर्दा खुल्छ ।

    नाटकको सेटिङ न्यूनतम छ । यसमा धेरै प्रप्स र अतिरिक्त सजावटका सामग्री छैनन् । चेसबोर्डको रङजस्तो देखिने रंगमञ्च मात्र कलाकारको कब्जामा छ । जब पछिल्लो समयका नाटकहरु भव्य र ठूला सेट निर्माणमा केन्द्रित हुन्छन् तब यो नाटकको सेटले चाहिं त्यो भव्यतालाई महत्व दिएको छैन ।

    नृत्य र चालमार्फत कलाकारले सम्पूर्ण स्टेजलाई कुशलतापूर्वक प्रयोग गर्छन् । यो कलामार्फत उनीहरु सजावटभन्दा बाहिर दर्शकको ध्यान नजाओस् भन्नेमा सचेत छन् । नाटकको अर्को उल्लेखनीय पक्ष भनेको कलाकारको संयोजन हो । धेरै कलाकारलाई उपस्थित गराएर भीड गराउनुभन्दा २० जनाले नाटकलाई जीवन्त तुल्याउने प्रयास गरेका छन् ।

    Lets-Abhinaya-Garaun-Natak-12-1536x1024.jpg

    धेरै नाटकमा कलाकार मञ्चनको भित्र र बाहिर धेरै घुम्छन् तर यहाँका सबैजना कलाकार नाटकघर स्टेजमा उपस्थित हुन्छन् । यसले नाटकको प्रस्तुतीकरणमा धेरै प्रभाव राख्छ । कलाकारले पनि नाटकमा पात्रलाई न्याय दिएका छन् । नाटकले विभिन्न पृष्ठभूमिका युवाले आफ्ना व्यक्तिगत कथा, सपना र आकांक्षा साझा गर्ने सूक्ष्म रूपमा चित्रण गर्छ । यो दृष्टिकोणले दर्शकलाई कम्तीमा एक पात्रसँग जोडिन सजिलो हुन्छ । पात्रसँग दर्शकले अन्तरक्रियाको मौका पनि पाउँछन् ।

     नाटकका केही पात्रले दर्शकलाई आफ्नो भूत, वर्तमान र भविष्यबारे सोच्न बाध्य बनाउँछन् । तिनीहरूका कथाले दर्शकमा दीर्घकालीन प्रभाव छोड्छन् । उनीहरूलाई आफ्नै विचारमा गहिरिएर जान प्रोत्साहन दिन्छ । कसरी ?  यो कुरा थाहा पाउन नाटक हेर्नुपर्छ । गम्भीर विषयमा छलफल गर्नुसँगै नाटकमा केही प्लट पनि छन् जसले तपाईंलाई खित्का छुटाउने निश्चित छ ।

    Lets-Abhinaya-Garaun-Natak-2-1536x1024.jpg

    नाटकमा कलाकारको समूहले परम्परागत सीमा पार गर्दै प्रेमको सन्देश दिन विभिन्न चालहरू निपूर्णतापूर्वक प्रयोग गर्दछ । लिंग, वर्ग वा जात जेसुकै भए पनि सामाजिक मान्यतालाई बेवास्ता गर्ने व्यक्तिबीच प्रेम कसरी फुल्न सक्छ भन्ने कुरालाई नाटकले सुन्दर रूपमा चित्रण गरेको छ ।

    ‘ऐया ऐया’जस्ता अब्जर्ड कला प्रयोग गर्दै निर्देशक सिकेले यस्ता चाल प्रयोग गर्नमा निपूर्णता पस्किएका छन् । ‘लेट्स अभिनय गरौं’ले नाटक निर्देशकको रुपमा सिकेको विरासतलाई थप बलियो बनाउँछ, जसले रचनात्मक सीमाहरुलाई पर धकेलेका छन् र आफ्नो अद्वितीय कलात्मक दृष्टिले मोहित तुल्याउँछन् ।

    त्यसैगरी आठ समूहमा विभाजित कलाकारको संयुक्त संवादको अभ्यास पनि नाटकको अर्को उल्लेखनीय पक्ष हो । ती सबै संयुक्त संवाद राम्ररी सिंक भएका थिए । यसले कलाकारको समर्पण र कडा परिश्रमलाई प्रदर्शन गर्छ, किनकि उनीहरूले आफ्नो समय र संवादको डेलिभरीलाई पूर्ण बनाउन महत्वपूर्ण प्रयास गरेको हुनुपर्छ ।

    Lets-Abhinaya-Garaun-Natak-5-1536x1024.jpg

    संगीतकार जोडी (गितारमा नरेश गजुरेल र तबलामा शिवराज जोशी)ले नाटकको संवाद, नृत्य र अब्जर्ड चालमा जीवन्तता थपेका छन् । तिनीहरूको सांगीतिक संगतले समग्र अनुभवलाई बढाउँछ । मञ्चमा भावना र ऊर्जा बढाउँछ ।

    नाटकसँग दर्शकलाई भन्ने धेरै कुरा छन्, तर यहाँ सबै पक्षलाई समावेश नगरौं । नाटक मनोरञ्जनात्मक प्याकेज भए पनि यो त्रुटिबाट मुक्त भने छैन । नाटकको केही भागमा कलाकारले अब्बलता प्रस्तुत गर्न चुकेका छन् । आशा गरौं कि तिनीहरूले आगामी नाटकमा यी कमजोरीलाई सच्याउनेछन् ।

    Lets-Abhinaya-Garaun-Natak-6-1536x1024.jpgLets-Abhinaya-Garaun-Natak-9-1536x1024.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ