मंगलबार, जेठ ८ गते २०८१

गौचनको ‘प्रतिवहन’माथि विमर्श

गौचनको ‘प्रतिवहन’माथि विमर्श

अखबार दैनिक
आइतबार, जेठ २८ २०८०
  • गौचनको ‘प्रतिवहन’माथि विमर्श

    काठमाडौं । आख्यानकार मनिषा गौचनको नयाँ कथासंग्रह ‘प्रतिवहन’ माथि शनिबार राजधानीमा कथा-विमर्श भएको छ ।

    images

    धेरैजसो अपांगता भएका व्यक्तिहरुको कथा समेटिएका संग्रहमा समीक्षक राजकुमार बानियाँ, बौद्धिक तथा बहुअपांग अभिभावक संघकी अध्यक्ष तथा सोही क्षेत्रमा डेढ दशकदेखि संलग्न लक्ष्मी काफ्ले र लेखक गौचनसँग पत्रकार, निबन्धकार दीपक सापकोटाले कथा विमर्श गरे ।

    समीक्षक बानियाँले गौचनका कथामा बिलकुल नयाँ र कतै नलेखिएका विषय आएको बताए । ‘प्रत्येक कथा फरक छन्,’ उनले भने, ‘हरेक पात्रको पीडामाथि अनुभूतिको तहसम्म पुगेर लेखिएका कथाले पाठकलाई संवेदित बनाउँछन् ।’

    एकापसका पुस्तक आदानप्रदान गरेर पढ्ने मात्रै नभई लेखकले सधै नयाँ विषयको खोजमा लागिरहे पृथक र पठनीय साहित्य उत्पादन हुने उनको भनाइ थियो ।

    काफ्लेले अपांगतासम्बन्धी कमै साहित्य लेखिने गरेको बताउँदै प्रतिवहन कथासंग्रहले आफूहरुलाई न्याय गरेको बताइन् । ‘हामीजस्ता अभिभावकहरुले दिनहुँ कष्ट भोग्नुपरे पनि राज्यले बेवास्ता गर्ने गरेको छ,’ उनले भनिन्, ‘लेखक, पत्रकारहरुले यस्ता विषयमा अझ गहन भएर लेखिदिए राज्यलाई घचघच्याउन सहयोग पुग्थ्यो ।’ संग्रहका कथाहरुले आफूलाई भित्रैसम्म छोएको उनले बताइन् ।

    लेखक गौचनले आफूले अपांगताकै क्षेत्रमा काम गरेकाले र अपांगता भएका व्यक्तिहरुसँगको सामीप्यले विषयमाथि सूक्ष्म अध्ययन गरेर लेख्न सहज भएको बताइन् । ‘पात्रहरुको पीडामा समानुभूति गरेँ । उनीहरुको मनोविज्ञान नजिकबाट छाम्न खोजेँ,’ उनले भनिन्, ‘जुनसुकै बेला जो कोही पनि अपांग हुन सक्ने सम्भावना भएकाले अपांगता भएका व्यक्तिलाई दयाभावले नभई उनीहरुको चाहना र क्षमता बुझेर व्यवहार गर्नुपर्छ ।’

    समालोचक रत्नध्वज जोशीले बीसको दशकमा नेपाली साहित्यमा लेख्न छुटेका विषयको सूची निकालेको प्रसंग झिक्दै पत्रकार दीपक सापकोटाले अरु पनि छुटेका विषय छन् कि भन्दै सोधेको प्रश्नमा बानियाँले गौचनका प्रत्येक कथाले लेख्न छुटेकै विषय उठाएको र ती सबै विषय नयाँ मेन्युमा अटाउन सकिने बताए ।

    गौचनका यसअघि ‘वल्लीको डायरी’ र ‘हृवाइटकेन’ उपन्यास प्रकाशित छन् । २१ वटा कथा रहेको प्रतिवहन इन्डिगो इन्कले प्रकाशन गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ