मंगलबार, जेठ ८ गते २०८१

नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट

नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट

अखबार दैनिक
बुधबार, असोज १२ २०७९
  • नवदुर्गाको मुकुन्डो बनाउन सङ्कट

    असोज १२ काठमाडौं । “नवदुर्गाको मुकुन्डो मैले नबनाए जिम्मेवारी बोक्ने को रु यो पेसालाई निरन्तरता दिने कसले ? बनाएर न जस छ, न त प्रोत्साहन नै छ । बाहिर काम गर्न गए दैनिक डेढ, दुई हजार ज्याला पाइन्छ । नवदुर्गाको मुकुण्डो बनाएर न परिवार धान्न सकेको छु, न त गुजारा नै”, उल्लिखित भनाइ भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको प्रसिद्ध नवदुर्गा नाचको देवगणको मुकुन्डो बनाउन तल्लीन एक मात्र कालिगढ ७६ वर्षीय पूर्ण चित्रकारको हो ।

    images

    सांस्कृतिक तथा धार्मिक परम्परा चलाउन प्रत्येक वर्ष निर्माण गरिने नवदुर्गाको मुकुन्डो आर्थिक अभावसँगै बनाउन नयाँ पुस्ता तयार नहुँदा यो पेसा सङ्कटमा परेको हो । नवदुर्गा नाचका लागि विभिन्न देवीदेवताका १३ मुकुन्डो बनाउने कार्यमा अहिले पूर्ण चित्रकार एक जनामात्र संलग्न हुनुहुन्छ । उहाँको परिवारका सदस्यसमेत यो पेसाबाट विमुख छन् । पूर्ण चित्रकारपछि यो पेसा कसले सम्हाल्ने हो अहिलेसम्म अन्योल छ । 

    प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीका दिन बनाउन सुरु गरेर बडादसैँको महानवमीको राति प्रदर्शन गर्न तयार गरिसक्नु पर्दछ । महानवमीको मध्यरातमा ब्रम्हायणी शक्ति पीठमा तान्त्रिक विधिले पूजा गरी मुकुन्डोलाई सिद्ध गरेपछि नवदुर्गा नाच सुरु हुन्छ । यो नाचलाई भक्तपुर नगरका २१ ठाउँबाहेक मध्यपुर थिमी, चाँगुनारायण, बनेपा, धुलिखेल, पनौती, साँगा, श्रीखण्डपुर, खम्पू, ढुर्खकलगायतका स्थानमा आठ महिना प्रदर्शन गरिन्छ ।

    महादेव, गणेश, ब्रम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रयणी, महाकाली, सिम्ह, दुम्ह, भैरव र श्वेतभैरव गरी १३ वटा नवदुर्गा देवगणको मुकुन्डो तीन महिनामा तयार गर्नुपर्दछ । मुकुन्डो बनाउन कालोमाटो, विभिन्न किसिमका ढुङ्गाबाट बनेको रङ, सुन, मैदा, मट्टीतेल, कपास, नेपाली कागज, जुटको बोरा, कोरा कपडा, मासलगायतका सामग्री आवश्यक पर्दछ । हेर्दा सजिलो लाग्ने तर अत्यन्त कठिन कार्य भएकाले कामदारसमेत पाउन मुस्किल रहेको चित्रकार बताउनुहुन्छ । 

    मुकुन्डो बनाउन पहिला माटोलाई धुलो बनाएर चाल्ने, त्यसपछि मैदाको माड बनाई धुलो माटो हाल्दै मुछ्ने र डल्ला डल्ला बनाई राखिन्छ । सो डल्लो सुकेपछि कपास र नेपाली कागज राखी फुटाउनुपर्छ । अनिमात्र मकुन्डो बनाउने कार्य सुरु हुने चित्रकारले बताउनुभयो । “मुकुन्डो बनाइसकेपछि घाममा सुकाउनु हुँदैन हावाले मात्र सुकाउनुपर्छ । एउटा मुकुन्डो सुकाउन कम्तीमा दुई हप्ता लाग्छ”, चित्रकारले भन्नुभयो । 

    मुकुन्डो मात्र बनाएर पुग्दैन घण्टाकर्णका दिन नवदुर्गाको मुकुन्डो बनाउनलाई माटोको विधिवत् रुपमा पूजा गर्नुपर्दछ । यसरी माटोलाई पूजा गर्न आउने बाजागाजासहितको टोलीलाई भोज खुवाउनुपर्ने बाध्यता छ । आम्दानीभन्दा बढी खर्च हुने भएकाले घरपरिवारले समेत मुकुन्डो नबनाउन धेरै दबाब दिने गरेको उहाँले बताउनुभयो ।

    नवदुर्गा नाचलाई जीवन्तता दिई परम्परा लोप हुनबाट बचाउने हो भने सम्बन्धित निकायले मुकुन्डो बनाउनका लागि उचित आयस्ताको बन्दोबस्त गरी दिनुपर्ने चित्रकार बताउनुहुन्छ ।

    मुकुन्डो बनाउन कामदारको ज्याला, आवश्यक सामग्री खरिद र आफ्नो ज्यालासमेत जोड्दा बर्सेनि तीन लाख खर्च हुन्छ । चित्रकाले भन्नुभयो, “मुकुन्डो बनाउन यो वर्ष जम्मा रु २९ हजार आएको छ यसले कसरी तयारी पूरा गर्ने, तयारी पूरा गर्न बाँकी सबै खल्तीबाट हाल्नुपर्छ ।”

    चित्रकारले नवदुर्गाको मुकुन्डो बनाउने कार्य विसं २०२० सालदेखि गर्दै आउनुभएको हो । भक्तपुरको धरोहर तथा धर्म संस्कृतिको जगेर्नाका लागि मात्र मुकुन्डो बनाउन नछोडेको उहाँले बताउनुभयो । उमेरले समेत साथ छाड्दै आएकाले आफू पछि कसले मुकुन्डो बनाउँछ भन्ने चिन्ता चित्रकारलाई छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार