बुधबार, वैशाख १९ गते २०८१

विवेक शाहको ‘दरबारबाट देखेको नेपाल’ आउँदै

विवेक शाहको ‘दरबारबाट देखेको नेपाल’ आउँदै

अखबार दैनिक
मंगलबार, माघ २ २०८०
  • विवेक शाहको ‘दरबारबाट देखेको नेपाल’ आउँदै

    काठमाडौँ । चर्चित पुस्तक ‘मैले देखेको दरबार’ का लेखक पूर्व सैनिक सचिव एवम् रथी विवेककुमार शाहको नयाँ पुस्तक ‘दरबारबाट देखेको नेपाल’(संस्मरण) को आवरण सार्वजनिक गरिएको छ ।

    images

    उनले यस पुस्तकमा राजदरबारमा विभिन्न ओहोदामा रहँदा, देखेका, सुनेका र अनुभूत गरेका विषयवस्तुलाई समावेश गरेको प्रकाशक साङ्ग्रिला मिडिया ग्रुपले जनाएको छ । साथै उनले आफ्नो अप्रत्याशित अवकाश र सेवामा रहँदाका केही महत्वपूर्ण सन्दर्भहरुसमेत समेटेको बताइएको छ ।

    आफ्नो पहिलो पुस्तक मैले देखेको दरबारमा दरबारभित्रका अनेकन रहस्य उद्घाटन गरेका शाहले यस पुस्तकमार्फत भने राजदरबारबाट बाहिर चियाउने प्रयास गरेका छन् । 

    तीन राजा (महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र) को राजकाज र कार्यशैलीलाई नजिकबाट नियालेका उनले पुस्तकमा तीन राजाका कार्यकालमा दरबारले देशलाई हेर्ने दृष्टिकोणबारे बताउने प्रयास गरेका छन् । 

    देशको भौगोलिक अवस्था, राजनीतिक, आर्थिक, प्रशासनिक र सामरिक फाँटका अनेक प्रसङ्ग उजागर गर्दै लेखक शाहले निश्चित परिधिमा रहेका मानिसबाहेक अरुले थाहा नपाएका जानकारीसमेत यस पुस्तकमार्फत सार्वजनिक गरेका छन् । 

    सक्रिय राजतन्त्र हुँदा पञ्चायती व्यवस्थाका समर्थकले र संवैधानिक राजतन्त्र हुँदा जनप्रतिनिधिहरुले गर्ने क्रियाकलापलाई दरबारले कसरी हेर्थ्यो भन्ने प्रसङ्गहरु यस कृतिका चाखपरक पक्ष हुन् ।

    समग्रमा दरबार, राजनीतिक दल र तिनका नेताहरुबीचको शङ्का–स्वार्थहरुलाई यस पुस्तकमा सम्झनाका तरेलीमार्फत उतारिएको छ । नेपालको राजसंस्थाबारे जान्न चाहने स्वदेशी, विदेशी पाठकहरु र इतिहासका विद्यार्थीहरुलाई यस पुस्तकबाट केही नयाँ जानकारी अवश्य मिल्नेछ भन्ने अपेक्षा लेखक विवेक कुमार शाहले लिएका छन् । यो पुस्तक चाँडै बजारमा उपलब्ध हुने साङ्ग्रिलाले जनाएको छ  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ