शनिबार, जेठ ५ गते २०८१

चिसो बढेपछि बेँसी सारिँदै गोठ

चिसो बढेपछि बेँसी सारिँदै गोठ

अखबार दैनिक
बुधबार, कात्तिक २२ २०८०
  • चिसो बढेपछि बेँसी सारिँदै गोठ

    मनाङ । हिमाली जिल्ला मनाङमा चरनका लागि लेकमा लगिएका भेडाच्याङ्ग्रा तथा चौँरीलाई बेँसी झार्न थालिएको छ । अत्यधिक चिसो बढ्न थालेपछि भेडाच्याङ्ग्रा तथा चौँरी गोठालाले गोठ सार्न थालेका छन् ।  मनाङको ङिस्याङ गाउँपालिका–६ केरकिनमा चौँरी तथा भेडाच्याङ्ग्रा पाल्दै आएका सगर गुरुङले तीन हजार छ सय मिटर उचाइको लेकबाट पुश झार्न थालिएको बताए ।

    images

    हिउँ पर्न थालेपछि बेँसीको खर्क सारिएको बताए । मनाङ ङिस्याङ–८ जुलुमा ३७ परिवारले सामूहिकरूपमा भेडाच्याङ्ग्रापालन गर्दै आएका छन् । चिसो बढ्दै जाँदा घाँस सुकेर अभाव हुने भएकाले लेकबाट गोठ बेँसीतर्फ सार्न सुरु भएको उनले बताए ।

    व्यावसायिकरूपमा पशुपालनलाई सरकारले चासो नदिएकामा गुरुङको गुनासो छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङले पनि चासो नदेखाएको उनले बताए । गुरुङले भने, “गत वर्ष विभिन्न रोगले २२ चौँरी र ५५ च्याङ्ग्रा मरेका थिए, तर कतैबाट पनि सहयोग पाइएन ।” गत वर्ष हिमपहिरामा परी दुई सय ५० भन्दा बढी भेडाच्याङ्ग्रा तथा चौँरी मरेको सुनाउँदै उनले भने, “अहिले त झन् हिउँचितुवाले पनि सताएको छ ।” 

    पशुपालक किसान याङ्दुङ गुरुङले पहिलेको तुलनामा अहिले चितुवाले बढी सताउने गरेको बताए । उनले भने, “पहिले चौँरी र भेडाच्याङ्ग्रा धेरै थिए । तर पाल्ने क्रम कम भएको छ ।  चितुवाको आक्रमण बढ्दा अझ समस्या थपिएको छ ।” अहिले साना बाच्छाबाच्छी जोगाउनै मुस्किल हुने गरेको गुरुङले  सुनाए । “केही बाच्छाबाच्छी चितुवाले आक्रमण गर्दा नै धपाउन पाएका हुन्छौँ । कहिले त कति बेला खायो नै थाहा हुँदैन । राहतका लागि झन्झट छ । राहतको रु पाँच–दश हजार लिन आउँदा जाँदा विभिन्न कागजात बनाउँदा रु २५ देखि ३० हजार खर्च हुने गरेको उनको गुनासो छ । 

    गुरुङले भने, “पहिलेको जस्तो घाँस हुँदैन । घाँस अभावले अहिले झन्झन् माथिल्लो लेक गोठ सार्नुपरेको छ । न समयमा हिउँ पर्छ यसले गर्दा पनि घाँसको समस्या हुँदै गएको हो ।” मौसमलाई हामीले मिलाउन नसकिने हुँदा किसानले सास्ती भोग्दै आएको उनले बताए ।  भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नरेन्द्र राईले भेडाच्याङ्ग्रा, चौँरी लेकमा गोठ हुने हुँदा झन्झटिलो प्रक्रियाले समस्या भएको बताए । यहाँका स्थानीयलाई राहत र सरकारबाट हुने सेवाका लागि सचेतनाका काम भने गरिरहेको उनको भनाइ छ । 

    गत असार महिनादेखि अग्ला लेक लगिएका भेडाच्याङ्ग्रा र चौँरी बेँसीतर्फ गोठालाले झारिरहेका छन् । चिसो बढेसँगै लेकका खर्क खाली हुँदै आएको छ । कात्तिक मध्यबाट घरवरपर नै गोठ राखी खुवाउने गरिन्छ । अब होचा स्थानमा भेडाच्याङ्ग्रा र चौरीको गोठ राखिनेछन् । 
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार