सोमबार, मंसिर १० गते २०८१

बैंकहरूलाई सेयरमा लगानी गर्न प्रोत्साहन

बैंकहरूलाई सेयरमा लगानी गर्न प्रोत्साहन

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • बैंकहरूलाई सेयरमा लगानी गर्न प्रोत्साहन

    ४ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर तथा अन्य धितोपत्रमा लगानी गर्नका लागि प्रोत्साहनमूलक नीति बनाइदिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सेयरसहितका अन्य क्षेत्रमा गरेको लगानीबाट बाहिरिनका लागि सहज नीति बनाइदिएको हो ।

    images

    बैंक तथा वित्तीय संस्थाहरूले १ वर्ष अवधि व्यतित भइसकेको लगानीबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था समीक्षामा गरिएको छ । यो व्यवस्थाले लगानीको १ वर्ष पूरा भइसकेपछि  बैंकहरूले पर्याप्त रकमको सेयर तथा अन्य लगानी बिक्री गर्न सक्ने छन् ।

    यसअघिसम्म १ वर्ष व्यतित भइसकेको लगानीबाट प्राथमिक पूँजीको १ प्रतिशत मात्रै बेच्न पाइने व्यवस्था थियो । यसले गर्दा चाहेकै रकमको सेयर तथा अन्य धितोपत्र बेच्न समस्या हुँदा बैंक तथा वित्तीय संस्थाहरु लगानी गर्नका लागि नै हच्किरहेका थिए । बैंक तथा वित्तीय संस्थहरु हच्किँदा धितोपत्रको मागलाई संकुचित गराएको थियो ।

    तर अब लगानी बिक्रीको सीमा नै बढाइएपछि बैंकहरुलाई सेयरमा लगानी गर्नका लागि प्रोत्साहन मिल्नेछ । ‘लगानीबाट बाहिरिनका लागि सहज व्यवस्था भयो, यसले सेयरमा मात्रै होइन, अरु क्षेत्रमा पनि लगानी गर्न प्रोत्साहन नै गर्छ’ एक बैंकका सीईओले भने ‘तर लगानी कुन कुन क्षेत्रमा गर्छन् भन्ने विषय बैंकका आफ्नै योजना हुन्छन् ।’

    चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल प्राथमिक पूँजी ७ खर्ब १६ अर्ब रुपैयाँ बराबर छ । सेयर, डिवेन्चर र सामुहिक लगानी कोषमा मात्रै बैंकहरुले कुल प्राथमिक पूँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । हाल पर्याप्त कर्जा प्रवाह नभइरहेको अवस्थामा बैंकहरुले सेयरमा लगानी बढाउन सक्ने र यसले बजार बढ्नमा टेवा पुग्ने अनुमान गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार