जुम्ला – जुम्लामा १ सय ५० मेगावाट क्षमताको जवा–तिला जलविद्युत् आयोजनाको काम अगाडि बढ्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठकले १ सय ५० मेगावाटको परियोजना अगाडि बढाउने निर्णय गरेपछि काम अगाडि बढ्ने भएको हो ।
यो परियोजनामा झण्डै ३५ अर्ब लगानी लाग्ने प्रारम्भिक अनुमान छ । जवा–तिला परियोजनाका लागि २०७८ साल असोजमा जुम्लाबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने निवर्तमान सांसद तथा कर्णालीका पूर्व मन्त्री नरेश भण्डारीले निवेदन दर्ता गर्नुभएको थियो ।
जलविद्युतको काम अगाडि बढ्ने भएपछि जुम्ला र कर्णालीमा बिजुली पर्याप्त हुने भन्दै उपभोक्ता खुसी भएका छन् । यो योजनाले पूर्णता पाएमा बिजुलीको समस्या नहुने र जुम्लाको आर्थिक विकासमा पनि सहयोग पुग्ने जुम्लाको पातारासी गाउँपालिकाका स्थानीयबासिन्दा गोरबहादुर बुढाले बताउनुभयो ।
जुम्लामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ तर क्षमता नपुग्दा समस्या छ । सुर्खेत, दैलेख, कालिकोटको भिरपाखाबाट पुगेको लाइनमा बेला बेलामा तार र पोलमा क्षति भैरहने समस्या छ । बिजुली अनियमित हुने गरेको छ । कर्णाली प्रदेशका पूर्वमन्त्री भण्डारीका अनुसार यो परियोजना कर्णालीकै लाईफ चेन्जर परियोजना हुनेछ ।