शनिबार, मंसिर १२ गते २०८३

होल्ड अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको चासो, २० मिनेट छलफल

होल्ड अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको चासो, २० मिनेट छलफल

अखबार दैनिक
शुक्रबार, मंसिर ११ २०८३
  • होल्ड अध्यादेशबारे राष्ट्रपतिसँग प्रधानमन्त्रीको चासो, २० मिनेट छलफल

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका विभिन्न अध्यादेश जारी नगरी होल्ड गरेपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले यसबारे चासो व्यक्त गरेका छन् ।

    शुक्रबार प्रधानमन्त्री शाह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग करिब २० मिनेट छलफल गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले आफ्नो हालै सम्पन्न भारत भ्रमणबारे जानकारी गराउनुका साथै सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

    राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले मंसिर ६ र ७ गते भएको भारत भ्रमण उपलब्धिमूलक रहेको र दुई देशबीचको सम्बन्ध थप सुदृढ भएको जानकारी गराएका थिए । त्यसपछि उनले सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गरेका थिए ।

    प्रधानमन्त्री शाहले अध्यादेशमा आपत्तिजनक विषय नरहेको दाबी गर्दै सरकारले कुनै गलत उद्देश्यले अध्यादेश ल्याउन नखोजेको स्पष्ट पारेका थिए । संसद्बाट विधेयक पारित गराउने प्रक्रिया लामो हुने भएकाले तत्कालका लागि अध्यादेशको विकल्प रोजिएको उनको भनाइ थियो ।

    उनले सरकार संसद्प्रति पूर्ण सम्मान राख्ने र संसद्मा विभिन्न विधेयकसमेत अघि बढाइरहेको उल्लेख गर्दै अध्यादेश चाँडै जारी हुने अपेक्षा व्यक्त गरेका थिए ।

    राष्ट्रपति पौडेलले हालसम्म तीनवटा महत्त्वपूर्ण अध्यादेश जारी गरेका छैनन् । मन्त्रिपरिषद्को कात्तिक १७ गतेको बैठकले सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधनसम्बन्धी अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधनसम्बन्धी अध्यादेश होल्डमा छन् ।

    त्यस्तै, मंसिर ४ गतेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ पनि राष्ट्रपतिबाट जारी भएको छैन ।

    विशेषगरी प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेशलाई लिएर विभिन्न सरोकारवाला पक्षले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त अध्यादेश जारी नगर्न राष्ट्रपतिमाथि विभिन्न क्षेत्रबाट दबाबसमेत पर्दै आएको छ ।

    यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि शुक्रबार राष्ट्रपति पौडेलसँग भेट गरेका थिए । अध्यादेशबारे राजनीतिक तथा संस्थागत चासो बढिरहेका बेला प्रधानमन्त्रीको शीतल निवास भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार