शुक्रबार, मंसिर ११ गते २०८३

नेपाल विद्युत् प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग विद्युत् किन्ने प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग विद्युत् किन्ने प्रस्ताव

चैतदेखि जेठसम्म तीन महिनाका लागि विद्युत् खरिद गर्ने तयारी

अखबार दैनिक
शुक्रबार, मंसिर ११ २०८३
  • नेपाल विद्युत् प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग विद्युत् किन्ने प्रस्ताव

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी वर्ष भारतबाट १५० मेगावाटसम्म विद्युत् खरिद गर्न भारतीय विद्युत् उत्पादक, व्यापारी तथा सम्बन्धित कम्पनीहरूसँग प्रस्ताव माग गरेको छ। प्राधिकरणले सन् २०२७ को मार्चदेखि मे महिनासम्म तीन महिनाका लागि विद्युत् खरिद गर्ने उद्देश्यले प्रतिस्पर्धात्मक बोलपत्र आह्वान गरेको हो।

    प्राधिकरणले नोभेम्बर २७ (मंसिर १२) मा सार्वजनिक गरेको बोलपत्रसम्बन्धी सूचनाअनुसार भारतबाट चौबीसै घण्टा (राउन्ड द क्लक–आरटीसी) विद्युत् खरिद गरिनेछ। विद्युत् खरिद प्रक्रिया खुला पहुँच (ओपन एक्सेस) प्रणालीमार्फत अघि बढाइने प्राधिकरणले जनाएको छ।

    बोलपत्रमा भारतका खुला पहुँचका उपभोक्ता, नियमनकारी विद्युत् वितरण निकाय (डिस्कम), विद्युत् उत्पादक तथा केन्द्रीय विद्युत् नियामक आयोग (सीईआरसी) बाट वैध श्रेणी १, २ र ३ को विद्युत् व्यापार अनुमति प्राप्त व्यापारी कम्पनीहरूले सहभागी हुन पाउनेछन्।

    प्राधिकरणले विद्युत् खरिदका लागि प्रतियुनिट अधिकतम ७.३४ भारतीय रुपैयाँ मूल्य सीमा तोकेको छ। इच्छुक कम्पनीले प्रतिकिलोवाट घण्टा (किलोवाट आवर) का आधारमा मूल्य प्रस्ताव गर्नुपर्नेछ। तोकिएको सीमाभन्दा बढी मूल्य प्रस्ताव गर्ने बोलपत्र अस्वीकृत हुने प्राधिकरणले जनाएको छ।

    बोलपत्रमा सहभागी हुने कम्पनीले न्यूनतम २५ मेगावाट विद्युत् बिक्रीको प्रस्ताव गर्नुपर्नेछ। त्यसपछि २५ मेगावाटको अन्तरमा ५०, ७५, १००, १२५ हुँदै अधिकतम १५० मेगावाटसम्म प्रस्ताव गर्न सकिने व्यवस्था गरिएको छ।

    प्रस्ताव मूल्यांकन गर्दा सबैभन्दा कम मूल्य कबोल गर्ने कम्पनीलाई पहिलो प्राथमिकता दिइनेछ। कुनै एउटा कम्पनीले आवश्यक १५० मेगावाट विद्युत् उपलब्ध गराउन नसकेमा बाँकी परिमाण दोस्रो कम मूल्य प्रस्ताव गर्ने कम्पनी र त्यसपछि क्रमशः अन्य कम्पनीबाट खरिद गरिनेछ।

    बोलपत्र पेस गर्ने अन्तिम म्याद डिसेम्बर २८, २०२६ को मध्याह्न १२ बजे तोकिएको छ। सोही दिन दिउँसो १ बजे प्राधिकरणको केन्द्रीय कार्यालय, दरबारमार्गमा प्राविधिक प्रस्ताव खोलिनेछ। इच्छुक कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय बोलपत्र प्रणाली (ई–जीपी) मार्फत प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै पेस गर्नुपर्नेछ।

    बोलपत्रमा सहभागी हुने कम्पनीले प्रतिस्पर्धामा प्रस्ताव गरेको विद्युत् क्षमताका आधारमा प्रतिमेगावाट प्रतिमहिना ५५ हजार भारतीय रुपैयाँका दरले धरौटी (अर्नेस्ट मनी डिपोजिट) राख्नुपर्ने व्यवस्था छ। उदाहरणका लागि, १५० मेगावाट विद्युत् तीन महिनाका लागि प्रस्ताव गर्ने कम्पनीले २ करोड ४७ लाख ५० हजार भारतीय रुपैयाँ धरौटी राख्नुपर्नेछ।

    प्राधिकरणले छनोट भएका कम्पनीसँग सम्झौता गरी भारतको मुजफ्फरपुर सबस्टेसनबाट ४०० केभी ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनमार्फत विद्युत् आयात गर्ने योजना बनाएको छ। यसका लागि आवश्यक प्रसारण अनुमति, खुला पहुँचसम्बन्धी स्वीकृति तथा अन्य प्रक्रिया पूरा गर्ने जिम्मेवारी विद्युत् आपूर्तिकर्ताको हुने बोलपत्र दस्तावेजमा उल्लेख छ।

    यस प्रक्रियामार्फत प्राधिकरणले आगामी वर्षको सुक्खायाममा विद्युत् आपूर्तिको आवश्यकता पूरा गर्न भारतबाट थप विद्युत् खरिद गर्ने तयारी गरेको देखिन्छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार