बुधबार, मंसिर २ गते २०८३

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

अखबार दैनिक
बुधबार, मंसिर २ २०८३
  • ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता

    टोकियो, २ मङ्सिर  :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ र रुसी राष्ट्रपतिसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने तयारी गरिरहेका बेला जापानी प्रधानमन्त्री साने ताकाइचीले उहाँसँग भेटवार्ता गर्नुभएको छ । जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मङ्गलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो ।    
        
    फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले आयोजना गर्नुभएको रात्रिभोजमा भएको भेटमा दुवै नेताले इन्डो–प्यासिफिक क्षेत्रका विषयमा निकट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको जापानी विदेश मन्त्रालयका एक अधिकारीले बताएका छन् ।    
        
    प्रधानमन्त्री ताकाइची बुधबार एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी हुन चीनको सेन्जेन जाँदै हुनुहुन्छ । प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो चीन भ्रमण हो ।    
        
    ताइवानसम्बन्धी उहाँको अभिव्यक्तिपछि चीनसँगको पछिल्लो परिस्थितिका कारण चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता हुनेबारे भने अन्योल रहेको बताइएको छ । यद्यपि, सञ्चारमाध्यमका अनुसार उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छोटो भेट गर्न सक्ने सम्भावना छ । रुसी विदेश मन्त्रालयका एक अधिकारीले भने त्यस्तो भेटबारे कुनै निर्णय नभएको बताएका छन् ।    
        
    जासुसीको आरोपमा रुसमा एक जापानी पत्रकार पक्राउ पर्नुका साथै जापान टोबाकोसँग सम्बन्धित सम्पत्ति जफत भएपछि पछिल्ला साताहरूमा जापान–रुस सम्बन्धमा तनाव बढेको छ ।    
        
    यसैबीच, सी, ट्रम्प र पुटिनबीच बिहीबार त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ । जापानी सरकारका मुख्य प्रवक्ता मिनोरु किहाराले अमेरिका–चीन, चीन–रुस तथा अमेरिका–चीन–रुस सम्बन्धलाई जापानले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।    
        
    उहाँले जापानको राष्ट्रिय हित र अन्तर्राष्ट्रिय शान्ति तथा स्थिरताका लागि अमेरिका–जापान गठबन्धन बलियो हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।    
        
    चीनले आफ्नो भूभाग मान्दै आएको ताइवानको अवस्थाबारे प्रधानमन्त्री ताकाइचीले गत वर्ष नोभेम्बरमा जापानको सम्भावित भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो । उक्त अभिव्यक्तिपछि चीनले आफ्नो चासो व्यक्त गरेको थियो ।(रासस/एएफपी)    
      

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार