बिहीबार , मंसिर १० गते २०८३

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

अखबार दैनिक
बुधबार, मंसिर ९ २०८३
  • चीनसहित १६ अर्थतन्त्रमा अमेरिकी कर बढ्ने

    वासिङ्टन, ९ मङ्सिर  :अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले चीन र युरोपेली सङ्घ (इयु) सहित १६ अर्थतन्त्रबाट आयात हुने औद्योगिक वस्तुमा थप कर लगाउने तयारी गरेको छ । अमेरिकी व्यापार प्रतिनिधि कार्यालयले सरकारी अनुदानका कारण औद्योगिक उत्पादन अत्यधिक बढेको विषयमा गरेको अनुसन्धानको नतिजा आगामी दिनमा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।    
        
    यससम्बन्धी जानकारी दिएका दुई व्यक्तिले नयाँ कर लागू हुने समय परिवर्तन हुनसक्ने बताएका छन् । ह्वाइट हाउसका अनुसार अनुदानका कारण सस्तो सामानको अत्यधिक उत्पादन र निर्यात हुँदा अमेरिकी उद्योगहरू प्रतिस्पर्धामा कमजोर भएका छन् ।    
        
    प्रस्तावित कर अमेरिकी सर्वोच्च अदालतले गत फेब्रुअरीमा असंवैधानिक ठहर गरेका व्यापक आयात शुल्कको विकल्पका  रूपमा  ल्याउन  लागिएको हो । अमेरिकी व्यापार ऐन, १९७४ को धारा ३०१ अन्तर्गत भइरहेको अनुसन्धानले अमेरिकी व्यापारमाथि भेदभाव गर्ने देशविरुद्ध शुल्क लगाउने अधिकार राष्ट्रपतिलाई दिन्छ ।    
        
    नयाँ शुल्कको दर स्पष्ट भइसकेको छैन । तर यसअघि घोषणा गरिएका १० देखि १२.५ प्रतिशतका शुल्कमाथि थपिने अपेक्षा गरिएको छ ।    
        
    चीनको विशाल औद्योगिक उत्पादन क्षमता र कमजोर घरेलु मागका कारण कम्पनीहरू विदेशी बजारमा निर्भर हुन थालेका छन् । सवारीसाधन, सौर्य प्यानल, सिमेन्ट र इस्पातजस्ता क्षेत्रमा चीनको बढ्दो उत्पादनले व्यापारिक साझेदारहरूको चिन्ता बढाएको छ । गत वर्ष चीनको व्यापार बचत कीर्तिमानी १२ खर्ब अमेरिकी डलर पुगेको थियो ।    
        
    ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हालै सेन्झेनमा भेटवार्ता भए पनि व्यापार घाटा दुई देशबीचको प्रमुख विवाद बनेको छ । सी अर्को महिना फ्लोरिडामा हुने समूह २० शिखर सम्मेलनमा सहभागी हुने अपेक्षा गरिएको छ । (रासस/एपी)   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार