काठमाडौं । नेपाली सेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ । शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.५७ अंकले घटेर २६२८ अंकमा झरेको हो ।
बजार घटेसँगै कारोबार रकममा समेत संकुचन आएको छ । बिहीबार ५ अर्ब ४८ करोड रुपैयाँको सेयर कारोबार भएकोमा शुक्रबार ४ अर्ब ८२ करोड रुपैयाँमा सीमित भएको छ ।
यस दिन बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । कारोबार भएका कम्पनीमध्ये २०३ वटाको मूल्य ओरालो लाग्दा ५९ कम्पनीको मूल्य बढेको छ । १७ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।
समूहगत कारोबारमा बैंकिङ र निर्जीवन बीमा समूहले मात्रै सकारात्मक प्रदर्शन गरेका छन् । बैंकिङ समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.३० प्रतिशतले बढेका छन् ।
अन्य सबै समूहमा गिरावट देखिएको छ । विकास बैंक समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत् ०.७४, उत्पादन तथा प्रशोधन ०.६५ र माइक्रोफाइनान्स समूह ०.५२ प्रतिशतले ओरालो लागेका छन् ।
कम्पनीगत रूपमा एनआईसी एसिया बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ६.०८ प्रतिशतको वृद्धि हासिल गरेका छन् । मान्डु हाइड्रोपावर ४.७६ प्रतिशत, बेस्ट फाइनान्स ४.३० प्रतिशत र उपकार लघुवित्त ३.१३ प्रतिशतले बढेका छन् ।
यता सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.३७ प्रतिशतले घटेको छ । युनिक नेपाल लघुवित्त ४.६४ प्रतिशत र बेनी हाइड्रोपावर ४.२७ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक सबैभन्दा अगाडि रहेको छ । ग्लोबल आईएमई बैंक, हिमालय ऊर्जा विकास कम्पनी, एनआईसी एसिया बैंक र घलेम्दी हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन् ।
समग्रमा बजारमा बिक्रीको दबाब कायम रहँदा अधिकांश कम्पनीका सेयरधनीले मूल्य गिरावटको सामना गर्नुपरेको छ । यद्यपि बैंकिङ र निर्जीवन बीमा समूहमा देखिएको सामान्य सुधारले बजारमा सीमित सकारात्मक संकेत दिएको छ ।


प्रतिक्रिया दिनुहोस