२१ वर्षीय माया लुहारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर आफ्नो जिम्मेवारी पूरा गरिन्। उनको सपना केही दिनका लागि खटाइने म्यादी मात्र होइन प्रहरी बनेर सधैं समाजको सुरक्षा गर्ने थियो।
तर, उनको सपनामाथि सुरक्षा निकायकै मान्छेबाट तुसारापात भयो। उनको सपना मात्रै सकिएन, सँगै सकियो श्वास पनि। भौतिक संसारबाट उनी त बिदा भइसकिन् तर उनकी आमा भने अझै छोरी कुरिरहेकी छिन्।
बैतडीको पञ्चेश्वर गाउँपालिकामा बस्ने आमा रमा लुहार छोरीको हत्या भएदेखि नै अचेत छिन्। छोरी माया लुहार (भुरी)को घाँटी रेटेर हत्या भएपछि रमा होसमा छैनिन्।
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलेकी मायाको हत्यापछि अहिले गाउँ शोकमा डुबेको छ। छोरीको हत्याको खबर पाएलगत्तै रन्थनिएर बेहोस भएकी रमा अहिले होसमा आउनेबित्तिकै छाती पिटेर रुन थाल्छिन्। होसमा आउनेबित्तिकै छोरीलाई खोज्छिन्।
छोराहरुको अगाडि रुँदै रमा भन्छिन्, ‘माया कब आउने हई’। छोराहरुले मायाँ आउँछे भन्दै थम्थम्याउँछन्। चार दिनदेखि मायाले अन्नको दाना मुखमा हालेकी छैनन्। ५५ वर्षीया मायाको मानसिक अवस्थासमेत बिग्रँदै गइरहेको छ। मायाकी बहिनी टिकु लुहार भन्छिन्, ‘दिदीको हत्यापछि आमाको अवस्था खराब बन्दै गएको छ। जतिबेला नि दिदीकै नाम लिएर बर्बराउनुहुन्छ।’
एक वर्षमै चार पीडादायी घटना
छोरीको वियोगमा विक्षिप्त बनेकी रमाको घरमा एक वर्षकै अवधिमा चारवटा पीडादायी घटना भएका छन्। श्रीमान र जेठी छोरीको मृत्युको पीडा सेलाउन नपाउँदै कान्छी छोरीको हत्याले उनी विक्षिप्त भएकी हुन्।
उक्त घटनामा गम्भीर घाइते भएकी नातीनी नेहा लुहार अस्पतालको शय्यामा छटपटाइरहेकी छिन्। माया दिदीका छोराछोरीका लागि कपडा किनर ल्याउँदै भन्दै भदैनीलाई साथमा लिएर बजार गएकी थिइन्।
आरोपी सशस्त्र प्रहरी जवान पक्राउ
माया लुहार हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी बलका जवान भरतराम कोली पक्राउ परेका छन्। बैतडीको शिवनाथ गाउँपालिका-४ का कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।
प्रमुख जिल्ला अधिकारी पन्थीले भने, ‘हत्या आरोप लागेका कोली महेन्द्रनगरबाट पक्राउ परेका छन्, बाटोमा हिँड्दै गरेको अवस्थामा पक्राउ परेको भन्ने खबर छ ।’
आरोपित कोलीलाई आजै बैतडी लगिने पनि उनले बताए । मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो।
यस्तै, सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन्।