शुक्रबार, भदौ १२ गते २०८३

पद्मा अर्यालको प्रश्न : ‘मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट आयो?’

पद्मा अर्यालको प्रश्न : ‘मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट आयो?’

अखबार दैनिक
सोमबार, भदौ ८ २०८३
  • पद्मा अर्यालको प्रश्न : ‘मानव भएर पशुजन्य व्यवहार गर्ने साहस कहाँबाट आयो?’

    ८ भदौ, काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।

    सोमबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै अर्यालले यस्ता जघन्य अपराध किन भइरहेका छन् र अपराधीले यस्तो घटना गर्न सक्ने साहस कहाँबाट पाउँछन् भन्ने विषयमा गम्भीर अध्ययन र अनुसन्धान गर्न सरकारसँग माग गरिन्।

    उनले गरिमा चौधरीको हत्या घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई शीघ्र कानुनी कारबाही गर्नुपर्ने बताइन्। ‘बारामा बालिकाको क्रुर हत्या भएको छ। म त्यसको निन्दा गर्दछु। अनुसन्धानका लागि सुरक्षा निकाय लागेको छ र केही मानिस अनुसन्धानमा तानिएका छन्,’ उनले भनिन्, ‘दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ।’

    यौन अपराधमा संलग्न व्यक्तिहरूको मनोवृत्तिमाथि प्रश्न उठाउँदै उनले भनिन्, ‘यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यस्तो प्रवृत्ति झन् बढ्ने देखिन्छ।’

    अर्यालले निर्मला पन्तलगायत विगतका जघन्य घटनालाई समेत स्मरण गर्दै सरकारले यस्ता घटनाको मूल कारण पहिचान गर्नुपर्ने बताइन्। उनका अनुसार घटना भएपछि अनुसन्धान र कारबाहीमा मात्र सीमित नभई यस्ता अपराध दोहोरिन नदिन दीर्घकालीन अध्ययन आवश्यक छ।

    ‘यस्ता घटना किन घट्छन् गम्भीर अध्ययन, अनुसन्धान गर्नुपर्छ। प्रतिवेदन तयार पारेर त्यसको कार्यान्वयन गर्नेतर्फ लाग्नुपर्छ,’ उनले सरकारलाई आग्रह गरिन्।

    यसैगरी अर्यालले सरकारप्रति राजनीतिक टिप्पणी गर्दै ‘सरकारको खुट्टा लुलो हुन थालेको’ आरोप लगाइन्। जनताका समस्या र प्रतिपक्षले उठाएका विषयलाई सरकारले बेवास्ता गर्न नहुने उनको भनाइ थियो।

    ‘साँचो कुरा बोलिरहनुपर्छ। हामीले बोलेका कुरा प्रतिपक्षीका कुरा मात्रै होइनन्, सबैको हो। बोलेको कुरा पूरा गर्ने कसम खाएको सरकार खुट्टा लुलो बनाइरहेको छ,’ उनले भनिन्।

    उनले बजारमा उपभोक्ताले सहज रूपमा ग्यास नपाएको तथा किसानले समयमै मल प्राप्त गर्न नसकेको विषयमा समेत सरकार गम्भीर बन्नुपर्ने माग गरिन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ