भदौ ९, सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ स्थित गागन खोला पुलनजिक मंगलबार एक महिलाको शव फेला परेको छ।
स्थानीयवासीले मध्याह्न करिब १२ बजे पुलनजिक महिला मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी सहायक निरीक्षक पुष्करप्रसाद घिमिरेको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार करिब ४५ वर्ष उमेरकी देखिने महिलाको शव घोप्टो अवस्थामा फेला परेको हो। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक दीपक खरेलको नेतृत्वमा टोली परिचालन गरिएको छ। सिरहाका डीएसपी रमेशबहादुर पालले महिलाको शव फेला परेको पुष्टि गर्दै मृतकको पहिचान खुलाउने तथा घटनाको कारण पत्ता लगाउने प्रयास भइरहेको जानकारी दिएका छन्।
प्रहरीले घटनालाई विभिन्न कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस