१० भदौ, काठमाडौं । रसुवामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा विद्युत आपूर्ति प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा क्षति पुगेको छ। यस्तै, त्रिशूली–३ ‘बी’ हबअन्तर्गतको २२० केभी सबस्टेसनसमेत बाढीबाट प्रभावित भएको छ।
यसैगरी त्रिशूली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचनामा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। विद्युत उत्पादन, प्रसारण र वितरणसँग सम्बन्धित संरचनामा क्षति भएपछि प्रभावित क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्था मूल्यांकन गरी विद्युत आपूर्ति यथाशीघ्र नियमित गर्न आवश्यक काम भइरहेको जनाएको छ। आपूर्ति नियमित नहुँदासम्म उपभोक्तालाई धैर्य गर्न आग्रह गरिएको छ।
बाढीबाट विद्युत संरचनासँगै घर, सडक, पुललगायतका भौतिक पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। क्षतिको विस्तृत विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
बाढीको जोखिम कायमै रहेकाले नदी तथा खोलाको आसपास र अन्य जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। प्राधिकरणले आफ्ना कर्मचारीलाई समेत सुरक्षित रहँदै उद्धार तथा मर्मतसम्भारका काम अघि बढाउन निर्देशन दिएको जनाएको छ।
प्राधिकरणले आधिकारिक स्रोतबाट जारी हुने सूचनालाई मात्र आधार मान्न र अपुष्ट समाचार तथा अफवाहको पछि नलाग्न सर्वसाधारणलाई अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस