असोज २८,
स्विडेनमा गरिएको अनुसन्धानले कोरोना संक्रमण भयो भने त्यसबाट मृत्यु हुने जोखिम विवाहितलाई भन्दा अविवाहित व्यक्तिलाई बढी हुने देखाएको छ । स्विडेनका वैज्ञानिकका अनुसार यदि तपाईं पुरुष हुनुहुन्छ, अनि अविवाहित, गरिब र शिक्षा पनि कम छ भने कोरोनाबाट मृत्यु हुने जोखिम ज्यादा हुन्छ ।
उक्त अनुसन्धानअनुसार महिलालाई भन्दा पुरुषलाई कोरोनाबाट मृत्यु हुने जोखिम २ गुणा बढी हुन्छ भने महिला हुन् वा पुरुष, विवाहितलाई भन्दा अविवाहितलाई मृत्युको जोखिम डेढ गुणा बढी हुन्छ ।
उक्त अनुसन्धान स्विडेनको ‘नेसनल बोर्ड अफ हेल्थ’को तथ्यांकमा आधारित छ । जुन तथ्यांकमा त्यहाँ कोरोनाका कारण मृत्यु भएकामा अविवाहित पुरुषको संख्या बढी छ भने तिनको उमेर २० वर्ष वा त्यसभन्दा केही बढी पाइएको छ । तर अविवाहित भएकै कारण कोरोना संक्रमणबाट मर्ने जोखिम किन बढी हुन्छ भन्ने कारणचाहिँ खुलाइएको छैन ।
नेचर कम्युनिकेसन जर्नलमा प्रकाशित अनुसन्धानमा स्विडेनस्थित स्टकहोम विश्वविद्यालयका अनुसन्धानकर्ता स्भेन ड्रेफलले भनेका छन्, ‘खासगरी अरू देशमा भन्दा स्विडेनमै जन्मिएका मानिसमा यस्तो जोखिम बढी पाइएको छ । कोरोनाबाट मृत्युको जोखिम कम आय र शिक्षासँग पनि जोडिएको पाइयो ।’ किनकि कम शिक्षा र आय भएका मानिसले आफ्नो स्वास्थ्यमा धेरै ध्यान दिन नसक्ने वैज्ञानिकको दाबी छ ।