नेपाल पत्रकार महासंघको तीनवटै तहको निर्वाचन यही मंसिर २८ गते सम्पन्न भएर नतिजा पनि सार्वजनिक भइसकेको छ । महासंघको मिति तोकिँदै जाँदा र नजिकिँँदै गर्दा पत्रकारहरुबीच बिभिन्न ध्रुवीकरण र गठबन्धन पनि बने, भत्किए र फेरी बने । विशेषत : सत्ताधारी राजनीतिक दल निकटका पत्रकारका संगठनहरु कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतरीबिच अप्राकृतिक ‘एलायन्स’ यस पटक बन्यो ।
यसैगरी नेकपा (माओवादी केन्द्र) निकटको प्रेस सेन्टर र माधव नेपालको पार्टी नेकपा समाजवादी निकट पत्रकारहरुबीच एलायन्स भयो । केही सानातिना दल निकटका पत्रकार संगठन र जातीय संगठनहरु कोही सत्ताधारी गठबन्धनमा गठजोड गरे त कोही प्रतिपक्षिहरुको संगठनको फेरो समाते । विशेषत : श्रमजीवी पत्रकारका मुद्धा, अजेण्डा र आवाज बोक्ने यी दुवै गठबन्धनका चुनावी नारा बनेनन् । बरु उनीहरुको ध्येय सदस्यताको अंकगणित कोर्दै कसरी पद कुम्ल्याउने भन्नेमै सीमित रह्यो । मुख्यरुपमा यी दुई एलाइन्स बनेको देखिएपनि भित्री रुपमा भने छोटो समयमै स्थापित क्रियाशील, श्रमजीवी, व्यवसायीक, तथा स्वरोजगारमूखी पत्रकारहरु मिलेर निर्माण भएको क्रियाशील पत्रकारहरुको साझा मोर्चाका उम्मेदवारहरु निकै सशक्त बनेको देखियो । मोर्चाका उम्मेदवारहरुले सम्मानजनक मत प्राप्त गरे ।
नेपाल पत्रकार महासंघको साझा गरिमालाई मौजुदा नेतृत्वले धुलिसात पारेर पटक–पटक मिति तोक्दै निर्वाचन गर्न नसकेपछि नेतृत्व असफल भएको घोषणा आमपत्रकारहरुले गर्दै आएका थिए । नेपाल पत्रकार महासंघको गेटबाट भित्र प्रवेश गर्दा आफू राजनीतिक दलको कार्यकर्ता भएको मानसिकतालाई प्रवेशद्वार बाहिर राख्न नसकी नागरिकको साझा अगुवा संस्थाको गरिमा बचाउन र उक्त गरिमा पुनः स्थापित गर्न नेतृत्व चुक्दा महासंघका बर्तमान पदाधिकारी हाँसोका पात्र बनेका थिए । यसैको परिणामस्वरुप क्रियाशील पत्रकारहरुको साझा मोर्चा पत्रकाहरुले स्वरुफूर्त रुपमा तयार पारे । उनीहरुको निरन्तर दबावस्वरुप महासंघको निर्माचन चौथो पटक घोषणा गरिएको मितिमा सम्पन्न हुन सक्यो । महासंघमा देखिएको गत्यारोध अन्त्यका लागि मोर्चाले उल्लेख्य भूमिका निर्वाह ग¥यो । यो मोर्चाप्रति अन्य संगठनबाट बिद्रोह गरेर साथ र समर्थन प्रदान गर्ने पत्रकारहरुको संख्या पनि चुनावको मिति नजिकिँदै गर्दा बढ्दै गयो ।
यता दश वर्षे जनयुद्ध गरेर विस्तृत शान्ति सम्झौतामार्फत खुला राजनीतिमा आएको तत्कालिन नेकपा (माओवादी)को पत्रकारको तत्कालिन संगठन क्रान्तिकारी पत्रकार संघको जुन गरिमा, इज्जत र प्रतिष्ठा जनयुद्धकालदेखि नै उच्चो र सम्मानयोग्य थियो, वर्तमान जुगल नेतृत्वले त्यलाई आगोमा पोलेर आफ्नै अनुहारमा खरानी पोत्ने काम गर्यो । यो संगठनमा प्रचण्डले गलत व्यक्तिलाई टिका लगाएर सुम्पिने काम गर्दा गैर पत्रकार, चम्चे, झोले र प्रचण्डको चाप्लुसी गर्नेहरुको हुलहुज्जत बढी छ । यहाँ लेख्ने, अध्ययनशील, तर्कशील, दिमाग चलाउने भन्दा हात, पाखुरार लात्ती चलाउनेहरुको बर्चश्व छ । संगठनको अध्यक्ष स्वयम् कहिल्यै पनि पत्रकारिता गर्दै नगर्ने, जान्दै नजान्ने र हाल उनी राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको स्वकीय सचिवमा घर चलाउनकै लागि जागिर खान गएका व्यक्ति हुन् । उनी फेसबुकमा माओवादी पार्टीको बैठक, सूचना आदि लेख्न बाहेक अरु केही लेख्न जान्दैनन् । प्रेस सेन्टरका महासचिव पनि उस्तै व्यक्ति छन् । उनी संघीय सांसद (आफ्नै श्रीमती) को पीए छन् । (यद्यपी संसद सचिवालयमा दिइएको स्वकीय सचिवमा छोरीको नाम छ तर आफैँ श्रीमती संसादको पछिपछि लागेर हिँड्न बाहेक उनको दोस्रो इलम छैन । पत्रकार संगठनको नेतृत्व तह गतिलो नहुँदा प्रेस सेन्टरमा आवद्ध पत्रकारहरु ‘माऊ बिनाको चल्ला’ जस्तो बनेका छन् । यहाँ बिधि, पद्धति, नीति, अनुशासनका बारेमा कुनै सदस्यले बोल्न पाइँदैन । राणा शासनका बेला देशमा जनताले भोगेको जस्तै निरंकुश, अप्राजातान्त्रिक शैली प्रेस सेन्टरका सदस्यहरुले भोग्नु पर्ने नियति बनेको छ । यो संगठनमा प्रचण्डलाई ‘बुवा’ र ‘सुप्रिमो’ भनेर सम्बोधन गर्ने अर्का यस्ता उपाध्यक्ष छन्, जो पत्रकारिता कहिल्यै गर्दैनन् । बरु उनी जग्गा दलाली गर्छन् । उनी पटक–पटक अनैतिक कृयाकलापमा सामेल भएका, कारबाही भोगेका र महिला कार्यकर्तालाई गिद्धे दृष्टि लगाउने व्यक्ति भएको उनकै कार्यसमितिका हरेक पदाधिकारी कानेखुशी सैलीमा तैँ चुप मैँ चुप हुनेगरी भन्दै आएका छन् । सेन्टरको अक्षम नेतृत्वका बारेमा कसैले बोलेको थाहा पाए उनीहरु त्यस्ता व्यक्तिलाई संगठनबाट निलम्बन, निष्काशन र पत्रकार महासंघको उम्मेदवार बन्ने टिकट नै ‘कोल्याप्स’ गरिदिन्छन् । बिधि, पद्धति र पत्रकारिताका बारेमा बहस, छलफल गर्नै आलोचानात्मक तथा विश्लेषणात्मक लेख,समाचार, फिचर लेख्ने र समसामयीक सिर्जनात्मक कार्टून कोर्ने कृयाशील पत्रकारहरु फणीन्द्र फुयाल, योगेश खपाङ्गी, प्रविण चौधरी लगायलाई पत्रकार महासंघको निर्वाचनको सम्मुखमा सेन्टरको यो झुण्डले निलम्बन गर्यो ।
संगठन भित्रको भाँडभैलोको फाइदास्वरुप प्रेस युनियनबाट केन्द्रीय अध्यक्ष बन्न आएको एक अमुक व्यक्ति (रमेश विष्ट) लाई संगठनले काँधमा हालेर हिँडेपछि प्रेस सेन्टरको अस्थित्व यतिबेला रक्षात्मक अवस्थामा पुगेको छ । आफैँले उम्मेदवारी दिन लगाएका केन्द्रीय अध्यक्ष पदका उम्मेदवारलाई (उपाध्यक्ष कमल गिरी) समेत उम्मेदवारी फिर्ता लिन लगाएर प्रेस सेन्टरले कांग्रेस (प्रेस युनियन) निकटका विष्टलाई संगठन नै सुम्पिन तयार भएर उनको उम्मेदवारी स्वीकार गर्नु जनयुद्धमा शहादत प्राप्त गरेका, बेपत्ता भएका र अंगभंग भएका योद्धाहरुमाथिको घोर अपमान थियो भन्दै बौद्धिक वर्ग चलेको चर्चा अझै सेलाएको छैन । नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टरले खेलेको यस्तो घृणित खेलमा माऊ पार्टीको मूल नेतृत्व अर्थात, पार्टी अध्यक्ष प्रचण्ड नै सामेल हुनु झनै आश्चार्यजनक विषय बनेको छ । राज्यको ‘चौथो अंग’ भनेर सर्वस्वीकार्य पत्रकारितामाथि यसरी दलका नेताले प्रत्यक्ष हस्तक्षप गर्नु प्रेस स्वतन्त्रता हनन् हुनु हो । पत्रकारको चुनावमा राजनीतिक दलका नेता हावि हुनु प्रेस स्वतन्त्रा माथिको गम्भिर अपहरण हो । र यो कदम चाल्न अभिप्रेरित गर्ने प्रेस सेन्टरको वर्तमान नेतृत्व प्रेस स्वतन्त्रता हनन् स्वीकार्न सहजै तयार भएको प्रमाण हो । ‘राज्यको चौथो अंग’ र ‘वाच डग’को भूमिका खेल्नुपर्ने पत्रकरिता ‘ल्याप गड’ बन्दा त्यसले कसरी लोकतन्त्रको रक्षा गला ? प्रश्न गम्भिर छ । प्रेस सेन्टरले काँधमा बोकेर उम्मेदवारी दिएका विष्टले सत्ताधारी दलकी साझा उम्मेदवार निर्मला शर्मासँग नमिठो पराजय व्यहोरेपछि अहिले बजारमा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’ले प्रेस सेन्टरको अध्यक्ष नै विष्टलाई सुम्पिने त होइनन् भन्दै व्यंग्य गर्न थालेका छन् ।
यद्यपी पत्रकार महासंघको निर्वाचनमा एजेण्डा मिल्ने पत्रकारहरुबीच सहकार्य हुनु स्वभाविक हो । प्रेस सेन्टरले युनियनको एउटा उछिट्टिएर आएको चोइटोसँग गरेको स्वार्थपूर्ण मिलिभगत र उनलाई महासंघको निर्वाचनमा अध्यक्ष स्वीकार्नु प्रेस सेन्टरको कायरता र लम्पसारको कालो अविश्मरणीय घटनाको संज्ञा दिन सकिन्छ । यस्तै फोहोरी हर्कत गर्दा प्रेस सेन्टरका उम्मेदवारहरु नेपाल पत्रकार महासंघको पदाधिकारीमा नराम्रोरी पराजित हुन पसगेका छन् । यस्तो घिनलाग्दो हर्कत यदि जनयुद्धका महान सहिद कृष्णसेन इच्छ्ुकले ‘माथिबाट’ हर्दै गरेका भए के भन्दा हुन् ? कति हाँस्दा हुन् ? कति सराप्दा हुन् ?
प्रेस सेण्टरको नेतृत्वले आफ्नै हिसाबले प्रारम्भमा क्रियाशील श्रमजीवी पत्रकारहरुसँग बसेर उम्मेदवार चयन गर्ने निर्णय गरेको भए, एक्लै निर्वाचन लड्ने आँट गरेको भए यो पीडादायी हार बेहोर्नु पर्ने थिएन । पहिला बालुवाटारमार्फत महासंघको उम्मेदवार चयन गर्ने माओवादी केन्द्र र यस क्षेत्रमा अख्तियारी पाएका प्रचण्डका तत्कालिन प्रेस सेल्लाहकार गोविन्द आचार्य र केही व्यक्तिहरुले गरेको गल्तीको परिणाम आज सेन्टरले भोगिरहेको छ । महासंघको केन्द्रीय नेतृत्वमा सत्ताधारी पत्रकारहरु विजयी भएका छन् । प्रेस सेन्टर भने आफ्नै घर जलाएर खरानीको व्यापार गर्न दंग छ । लेखक : फणीन्द्रफुयाल ज्वाला