वारागुङ मुक्तिक्षेत्र–३ तेताङ गाउँमा बाढीले बगाएर १२ च्याङ्ग्रा मरेका छन् । वर्षासँगै तेताङ गाउँबीचको मङ्च खोलाको बाढीले बगाएर चार खसी र आठ च्याङ्ग्रा मरेका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार बिहीबार तेताङ गाउँमाथिबाट बाढीले पुर्याएको क्षति विवरण सङ्कलन गर्न तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय छुसाङको प्रहरी टोली तेताङ पुगेको छ ।
अहिले प्रहरी टोली तेताङ गाउँ पुगिसकेको र विवरण आउन बाँकी रहेको उनले बताए । यसैगरी मङ्च खोलाको बाढीले तेताङ गाउँकाको सिँचाइ कुलो र खेतका पर्खालमा क्षति पुगेको स्थानीय सोनाम छिरिङ गुरुङले जानकारी दिए ।
तेताङमा करिब १५ मिटरभन्दा बढी सिँचाइ कुलो बाढीले बगाएको छ । तेताङ गाउँमा खानेपानी सेवा अवरुद्ध भएको । यसैगरी जिल्ला ट्राफिक कार्यालय जोमसोमदेखि तल रहेको कार्यालय भवनमा वर्षाका कारण ढुङ्गा खस्दा कार्यालय भवनमा आंशिक क्षति पुगेको छ ।
मनसुन सक्रिय रहेसँगै वर्षाले मुस्ताङका धेरैजसो स्थानका सडक अवरुद्ध भएका छन् ।यस्तो अवस्थामा केही दिन मुस्ताङको यात्रा नगर्न वारागुङ मुक्तिक्षेत्र–१ का वडाध्यक्ष प्रमेश गुरुङले आग्रह गरेका छन् ।
उपल्लो मुस्ताङमा हिमपात 
उपल्लो मुस्ताङका विभिन्न स्थानमा बिहीबार राति हिमपात भएको छ । एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार अहिले सामान्य हिमपात भइरहेको छ । मुक्तिनाथ क्षेत्रमा अहिले वर्षा भइरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रबिन सुवेदीले जानकारी दिए  । 
यस्तै घरपझोङ र थासाङ गाउँपालिकामा पनि मङ्गलबारदेखि निरन्तर वर्षा भइरहेको छ । यहाँका उच्चलेकमा हिमपात भए पनि बस्ती क्षेत्रमा हिउँ पर्न नसकेको स्थानीय मनिता थकालीले जानकारी दिए । रासस
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    