मंगलबार, कात्तिक ६ गते २०८१

माओवादी एकता प्रयास : प्रचण्ड सुध्रिए कि विप्लव स्खलित भए ?

माओवादी एकता प्रयास : प्रचण्ड सुध्रिए कि विप्लव स्खलित भए ?

सोमबार, कात्तिक ५ २०८१
  • माओवादी एकता प्रयास :  प्रचण्ड सुध्रिए कि विप्लव स्खलित भए ?

    नेपालमा कम्युनिस्ट पार्टीहरु गुट, फुट हुँदै अहिले पुनःजुट्ने झिनो प्रकृयामा छन् । करिव एक दसक अघिदेखि तत्कालिन नेकपा (माओवादी)बाट फुटेर गएको नेत्रविक्रम चन्द –विप्लव) नेतृत्वको नेकपा यतिबेला पुनः पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा (माओवादी केन्द्र) सँग एकीकरण हुने तरखरमा छ । यस्तै कुनै सयम तत्कालिन नेकपा (माओवादी)को उपाध्यक्ष समेत रहेका र केही समय नयाँ शक्ति पार्टी निर्माण गर्दै माओवादीबाट अलग्एिका डा. बाबुराम भट्टराईको पार्टीमा पुगेका महीन्द्र राय यादवको नेतृत्वमा केही पूर्व माओवादी नेताहरु पनि माओवादी केन्द्रमै पर्किने तयारी गरिरहेका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक पछि उनीहरुलाई आफ्नो पार्टीमा भित्र्याउने तयारी रहेको माओवादी केन्द्रका केही दोस्रो तहका नेताहरुले सार्वजनिक रुपमा अभिव्यक्ति दिँदै पनि आएका छन् ।

    images


    शान्ति प्रकृयामा आएपछि जनयुद्धले लिएको अजेण्डा बिर्सेर संसदीय भासमा प्रचण्ड चुर्लुम्म डुबेकोे आरोप लगाउँदै माओवादीबाट अलग्एिका विप्लव र उनको पार्टी केही समय अर्धभूमिगतसमेत भयो । सँगै जनयुद्ध लडेका रामबहादुर थापा बादल गृहमन्त्री भएका बखत विप्लवको पार्टीलाई प्रतिबन्ध समेत लगाइयो । गत स्थानीय तहको निर्वाचनलाई केही हदसम्म उपभोग गर्ने नीति लिएका विप्लव माओवादी केन्द्रमा भित्रिन हतार गर्नुलाई भने कम्युनिस्ट एकताको आँखाले हेर्दा स्वागतयोग्य देखिएपनि वैचारिक तथा आलोचानात्मक दृष्टिले भने विप्लव स्खलित भए कि प्रचण्ड सुध्रिए (आत्मालोचित भए)? यो कोणबाट प्रश्न उठाउँदा न्यायोचित नै होला !


    नेपालका बापन्थीहरु फुट्नु र जुट्नु सामान्य जस्तै भएको छ । अहिले पनि कम्युनिष्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै लोकतन्त्र, समावेशीता, संघीयता धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु हाँसिल गर्ने भूमिका निर्वाह (दस वर्षे जनयुद्धको थालनी) गरेको तत्कालिन नेकपा (माओवादी) यतिबेला छिन्नभिन्नकै अवस्थामा छ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामांकरण भएको छ । यो पार्टीले पटक पटक सरकार सञ्चालनको नेतृत्व समेत गरिरहेको छ । एक वर्ष अघि घोषणा भएको समाजवादी मोर्चाले नेपालका बापन्थीहरु पुनः एकताको डोरीमा बाँधिन लालायीत छन् भन्ने कुराको झिनो संकेत पनि गरेको छ । 


    कुनै बेला एउटै पार्टीमा रहेका मोहन वैद्य (किरण) को नेतृत्वमा नेकपा–माओवादी पार्टी नमांकरण भएको छ । नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यथावत छ । त्यसैगरी डा. बाबुराम भट्राई नेतृत्वको पार्टी नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) बनेको छ । उपेन्द्र यादवको पार्टी जनता समाजवादीका नाममा दर्ता छ । गोपाल किराँतीले माओवादी केन्द्रबाट राजनीतिक कृयाकपालहरु अघि बढाउँदै आएका छन् । विप्लवसँग छुट्टिएका धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) निर्माण भएको छ । त्यसैगरी कुनै समय प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेका पूर्व सभासद् विश्भक्त दुलाल ‘आहुति’ नेतृवको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ ।


    त्यसैगरी अन्य कम्युनिस्ट तथा बामपन्थी पार्टीहरुमा कर्णजित बुढाथोकी ‘शुशील’ अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टी छ । ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी छ । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले) छ । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजवादी) निर्माण भएको छ भने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी छ । नारायणमान विजुक्छेंको नेतृत्वमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) छ, जसले आफूलाई कम्युनिस्ट पार्टी नै भएको दाबी गर्छ । यी बाहेक राधाकृष्ण मैनाली, सीपी मैनाली लगायतले पनि आफूहरुलाई बापन्थी तथा कम्युनिस्ट भनेर दाबी गरेका छन् । 


    कम्युनिस्ट भनेका क्रान्तिकारी हुन्छन् । उनीहरु परिवर्तनका आवाजहरु उठाउने शक्तिहरु हुन् । उनीहरु कार्ल माक्र्स, लेनिन, ऐंगेल्स, माओ, चेग्वेभारा आदि आदर्शवान व्यक्तिको विचारलाई २१ औँ सताब्दी अनुरुपमा ढालेरे विश्व परिस्थिती बुझन, जान्न र भोग्न प्रयत्नशील हुन्छन् । कम्युनिस्टहरु यथास्थितिमा रमाएर बस्दैनन् । द्वन्द्धात्मक भौतिकवाद नै कम्युनिस्टहरुको मूल मन्त्र हो । जब देशमा कुनै राजनैतिक संकट आइपर्छ तब नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एक हुनुपर्ने आबाज निकाल्छन् ।


    नेपालको कम्युनिस्ट आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको छ । गत फागुन १ गते जनयुद्ध दिवस मनाउँने क्रममा र जनयुद्धका बेपत्ता योद्धाको स्मरणमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री प्रचण्डले विशेष जोड दिएरै कम्तिमा पनि जनयुद्धमा सहभागी सबै पूर्व माओवादी घटकहरु सके मिल्नुपर्ने नसकेपनि मिल्नने मुद्धाहरुमा कार्यगत एकता गरेर अघि बढ्ने र त्यसका लागि आफैँले पहल गर्ने बताउनु भएको थियो । पूर्व प्रधानमन्त्री प्रचण्डले जनयुद्ध थालनीको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने घोषणा गरेपछि र जनयुद्धका अयोग्य लडाकुहरुलाई रकम प्रदान गर्न सर्वोच्च अदालतले गरेको निर्णयलाई कार्यान्वयन गर्न लागेपछि तत्कालिन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले बिरोध जाउँदै माओवादी पार्टी र जनयुद्धलाई लाञ्छना लगाउँदै ‘हत्या दिवस’ भनेर गालिगलौज गरेपछि पूर्व माओवादी घटकहरु मिल्ने संकेत देखा परेको थियो । तर बिस्तारै ती गालीगलौजहरु ओझेल पर्दै गएपछि पूर्व माओवादीहरु मिल्ने कुरा पनि सेलाउँदै गयो ।


    जव नेपालको राजनीतिक दलका नेताहरु आपसी मतभेदमा रुमलिन्छन्, त्यसको फाइदा लिन देशी तथा विदेशी प्रतिकृयावादीहरु पटक–पटक सल्बलाएको नेपालको इतिहास छ । नेपालको कम्युनिस्ट आन्दोलन, खासगरी माओवादी धारका पार्टीहरुमा पनि आपसी मतभेदकै कारण वर्तमान स्थिती भोग्नु परेको तीतो यथार्थ हो । सिद्धान्त भन्दा पनि पदीय लडाइँका लागि कम्युनिस्टहरु फुट्ने गरेको नेपालको बामपन्थी आन्दोलनको कमजोर पक्ष हो । यसको पछिल्लो उदाहरण हो, माओवादी केन्द्र र एमालेबीच भएको नाम मात्रको एकता र फुट । विशेषतः माओवादीहरु नै गुट, र फुटमा रुमलिँदा माओवादी आन्दोलन, त्यसैको जगमा भएका अन्य अधिकार प्राप्तिका आन्दोलन र तिनले प्राप्त गरेका उपलब्धिहरु गुम्ने खतरा उत्तिकै बढेर गएको छ । 


    अझै पनि देशका सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु र केही सञ्चारमाध्यमका सम्पादकहरु ‘जनयुद्ध’ शब्द सुन्नै चाहँदैनन् । जुन संघर्षले हाल देशको राजनैतिक सफलता (संघीयता, समावेशीता, धर्मनिरपेक्षता, राजतन्त्रको अन्त्य, र समाजवादउन्मुख) हासिल गरेको छ, त्यो जनयुद्धकै देन हो भन्न कत्ति पनि हिच्किचावट र ग्लानी छैन । दही खाने तर दही जमाएको ठेकी भने लात्ताले हान्ने प्रबृत्ति अझै पनि हावी भइरहेको देखन्छि । 


    खासमा यो देशको परिवर्तनको एक महन्तपूर्ण सम्वाहक नैं माओवादी पार्टी हो । माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो र बिस्तृत शान्तिसम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो । तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ । किनकि देशले वर्षौँदेखि जरा गाडेर बसेको भष्टाचार, बेथिती, बिसंगतिको अन्त्य खोजेको छ । देशले आर्थिक समृद्धि चाहेको छ । सरकारी जग्गा हडपेर राज्यदोहन गर्न पल्किाएकाहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने छ । 


    आफू पनि भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेर लोकाचार मच्चाउनेहरु सरकारमा पुगेपछि फाइल खुल्ने डरले खुट्टा कमाउँदै फाइल लु्काउने परिपार्टीको अन्त्य हुन सकेको छैन । परिवर्तन नचाहने र देशलाई फेरी पनि पुरानै दिशामा फर्काउन चेष्टा गर्नेहरुले टाउको उठाउन थालेका छन् । अब सम्भव भए सबै कम्युनिस्ट पार्टीहरु एक हुने, सम्भव नभए कम्तिमा पूर्व माओवादीहरु भने एक ठाउँमा आउने वा चाँडै समाजवादी मोर्चालाई ठोस रुपमा मूर्त बनाउने (तत्कालिन, मध्यकालीन र दीर्घकालनि योजनासहित) हो भने भ्रष्टाचारीहरु दोहोलो काढिने छन् । पूर्व माओवादी घटक मात्र नभई सम्पूर्ण बामपन्थीहरु आफ्ना टुटफुटका तिता अनुभवहरूलाई समीक्षा गर्दै एकजुट हुन अब पनि ढिला गर्नु हुँदैन । अहिले राजतन्त्रको पक्षमा केही व्यक्तिहरु बाटोमा निस्किदै मुन्टो उठाउने चेष्टा गरिरहेका छन् । तर इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने छैनन् । आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन । राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुनेगरेका पश्चगामी परिवर्तन बिरोधीहरुलाई एकपटक बामपन्थीहरुले एकजुट बनेर तर्साउने बेला आएको छ । यो तथ्य नेपालको इतिहासमा पटक–पटक स्थापित भइसकेको पनि छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ