काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रको फोहोर नउठ्ने भएको छ । काठमाडौँ महानगरपालिकाले फोहोर मैला व्यवस्थापन सम्बन्धी अत्यन्तै जरुरी सूचना जारी गर्दै काठमाडौँ उपत्यकाका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहोर मैला घर र कम्पाउन्डमा सुरक्षित तरिकाले राख्न आग्रह गरेको हो ।
महानगरको वातावरण व्यवस्थापन विभाग आज एक सूचना जारी गर्दै उपत्यकाको फोहोर मैला अन्तिम विसर्जनस्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर विसर्जनमा अवरोध उत्पन्न भएकोले हाल फोहोर विसर्जन गर्न नसकिएको जनाएको हो ।
महानगरले फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न अनुरोध गरेको छ । बञ्चरेडाँडामा देखिएको अवरोधका कारण फोहोर ढुवानी र विसर्जन कार्य प्रभावित भएपछि महानगरपालिकाले यो सूचना जारी गरेको हो । अर्को सूचना जारी नभएसम्म धैर्य धारण गरी फोहोरलाई व्यवस्थित तरिकाले घरमै राख्न महानगरले जनाएको छ ।

 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                    