शुक्रबार, कात्तिक १६ गते २०८२

डबल 'ए' माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

डबल 'ए' माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

अखबार दैनिक
शुक्रबार, कात्तिक १६ २०८२
  • डबल 'ए' माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बिमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स

    नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इक्रा नेपालबाट डबल ए माइनस रेटिङ प्राप्त गरेको छ। यस श्रेणीमा पर्ने संस्थाहरूलाई अत्यन्तै उच्च स्तरको सुरक्षित र वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतायुक्त मानिन्छ। यो रेटिङ प्राप्त गर्ने नेपाल लाइफ इन्स्योरेन्स जीवन बिमा क्षेत्रमै पहिलो जीवन बिमा कम्पनी बनेको छ।  

    नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय स्थायित्व, बलियो बजार स्थिति र समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमताका आधारमा इक्रा नेपालबाट डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गरेको हो। सन् २००१ मा स्थापित कम्पनीले हाल देशभर १९० भन्दा बढी शाखा सञ्चालन गर्दै गत आर्थिक वर्ष २०८१-८२ को असार मसान्त सम्ममा कुल बिमा शुल्कको हिसाबले २७ प्रतिशतभन्दा बढी बजार हिस्सा कायम गर्न सफल भएको छ।  

    कम्पनीको सोल्भेन्सी अनुपात १५०.४० प्रतिशत रहेको छ जुन नेपाल बिमा प्राधिकरणले तोकेको न्युनतम अनुपात भन्दा बढी हो। कम्पनीलेकरिब ९४ प्रतिशत लगानीे स्थिर ब्याज दिने उपकरणहरूमा गरेको छ, जसले असार मसान्त सम्ममा औसत १०.०२ प्रतिशत प्रतिफल प्रदान गरेको छ। आर्थिक वर्ष २०८०-८१ मा कम्पनीले रू.२.१२ अर्ब खुद नाफा आर्जन गरेको थियो भने शेयरधनी कोषमा १८ प्रतिशत प्रतिफल रहेको थियो।  

    नेपाल लाइफले आफ्नो जोखिम सन्तुलन गर्न नेपाल पुनर्बीमा कम्पनी लिमिटेड, हिमालयन पुनर्बीमा लिमिटेड र ह्यानोभर रि (जर्मनी)सँग पर्याप्त पुनर्बीमा गरी आकस्मिक क्षतिबाट हुने सुरक्षा सुनिश्चित गरेको छ। जीवन बिमा क्षेत्रको अनुभवी संचालक समिति र दक्ष व्यवस्थापन टोलीको नेतृत्वबाट कम्पनीले ग्राहकको विश्वास, पारदर्शिता र दीर्घकालीन वित्तीय स्थायित्व कायम राख्दै आएको छ। यस उच्च रेटिङले नेपाल लाइफको विश्वसनीयता, स्थिरता, सशक्त नेतृत्व र बजारमा अग्रस्थान कायम राख्ने क्षमतालाई पुष्टि गर्दछ।  

    कम्पनीको करिब ९८.८० प्रतिशत व्यवसाय सावधिक जीवनबीमामा आधारित रहेको छ, जसले दीर्घकालीन स्थायित्व र बजारमा बलियो उपस्थिति कायम गर्न सहयोग पुर्‍याएको छ । साथै, आर्थिक वर्ष २०८१-८२ को असार मसान्तसम्म कम्पनीले करिब १ अर्ब ३२ करोड रुपैयाँ बराबरको विपद् कोष सुरक्षित राखेको छ, जुन कम्पनीको व्यवसायिक आकारअनुसार पर्याप्त छ । त्यस्तै, कम्पनीको २३३ अर्बभन्दा माथिको जीवन बीमा कोष र २४० अर्बभन्दा माथिको लगानी रहेको छ । कम्पनीले असार मसान्त सम्ममा ६७ अर्ब भन्दा माथिको दावी भुक्तानी गरेको छ।  

    यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले डबल ए माइनस रेटिङ प्राप्त गरेकोमा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै कम्पनीले आफ्नो वित्तीय स्थायित्वलाई झन् सबल र सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। जोखिम न्यूनीकरणका उपकरणहरूको अधिकतम प्रयोग गर्ने तथा लगानी विविधिकरणलाई प्राथमिकतामा राख्दै लगानीको प्रतिफललाई स्थिर र उच्च बनाउन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरूको प्रयोग गर्न कम्पनी कटिबद्ध रहेको उनको भनाइ छ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार