शनिबार, साउन १२ गते २०८१

माओवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र !

माओवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र !

बिहीबार , जेठ १७ २०८१
  • माओवादी अध्यक्ष प्रचण्डलाई खुला पत्र !

    जेठ १७ काठमाडौं । आदरणीय देशको अभिभावक प्रधानमन्त्री, एवम् नेकपा (माओवादी) केन्द्रको पनि अभिभावक (अध्यक्ष) पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यु अभिवादन । तपाइँलाई सन्चै होला भन्ने आशा र कामना व्यक्त गर्दछु । तर मलाई भने सन्चो छैन । लेख्नुपर्ने र सुनाउनुपर्ने कुराहरु मनमा धेरै मडारिएका छन् । खै, कहाँबाट सुरु गरौँ भन्ने अलमलमा पर्दै छु । पछिल्लो सिर्जित घटनाक्रमबाटै यथार्थ विवरणहरु व्यक्त गर्दछु । दुई वर्ष अघि तपाईकै प्रमुख आतिथ्यतामा चितवनको भरतपुरमा नेकपा (माओवादी) केन्द्रको भातृ संस्था प्रेस सेन्टरको केन्द्रीय अधिवेशन सम्पन्न भयो । त्यसबाट ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ बिधिबाट तपाईकै चाहना बमोजिम विष्णु सापकोटा ‘जुगल’ केन्द्रीय अध्यक्षमा चयन हुनुभयो । त्यहाँबाट काठमाडौं फर्किएपछिको केही हप्तापछि प्रेस सेन्टरले पदाधिकारी टुंग्यायो । संगठनको कुनै पनि पदमा नरहेका केही व्यक्तिहरु खुमलटार धाएर तपाईकै आशीर्वादमा पुनः पदाधिकारी बने । विशेषतः निर्मल ज्ञवाली संगठनका अन्य उपाध्यक्षहरु मध्ये एक हुनुहुन्छ । जो तपाईकै जोडबलमा उपाध्यक्ष बन्नु भएको चर्चा बजारमा अहिले पनि उत्तिकै ताजा नै छ ।

    images

    संगठनका केन्द्रीय अध्यक्ष जुगल र केन्द्रीय उपाध्यक्ष निर्मल ज्ञवाली म बिगत ६ वर्षदेखि सम्पादक रहँदै आएको झिल्को डटकम सञ्चालन गर्ने भन्दै लगानीकर्ताका रुपमा गतवर्षदेखि भित्रिनुभयो । हाल झिल्को डटकमको अध्यक्षमा निर्मल ज्ञवाली हुनुहुन्छ भने सल्लाहकारमा विष्णु सापकोटा जुगल हुनुहुन्छ । सम्पादकमा म स्वयम् छु ।

    उहाँहरु लगानीकर्ताको रुपमा भित्रिदा हामी झिल्कोमा मासिक पारिश्रमिक  लिने श्रमजीवि कर्मचारीहरु जम्मा तीन\चार जना मात्र थियौँ । उहाँहरु लगानीकर्ताका रुपमा आउने भएपछि हामी श्रमजीविहरु निकै अर्षित भयौँ । सोचेका थियौँ, संगठनका केन्द्रीय अध्यक्ष र उपाध्यक्षहरु नैं आउनेभएपछि त हाम्रो मासिक पारिश्रमिकमा पनि बृद्धि हुन्छ होला । अनलाइनमा विज्ञापनमा प्रसस्त आउँछ होला । तर उहाँहरु झिल्कोमा भित्रिएको दुई महिनादेखि काम गर्ने वातावरणमा धुमिल पार्ने, मासिक पारिश्रमिक प्रदान गर्न ढिलासुस्ती गर्ने र हाल आएर काम गर्ने वातावरण नैं अवरोध पारिरहनुभएको छ । काम गर्ने वातारवरण नहुँदा उतिबेलै एक जना श्रमजीवि साथीले रोगजारीबाट हात धुनुपर्ने अवस्था आयो । मैले गत पुस महिनादेखि पारिश्रमिक प्राप्त गर्न सकेको छैन । पारिश्रमिक नपाएको ६ महिना भइसकेको छ । अहिले उहाँहरुले झिल्को डटकम हुँडलेर बेवारिसे बनाउनु भएको छ । बन्द पनि गर्नु हुन्न, राम्रोसँग चलाउन पनि सक्नु हुन्न, श्रमजीविलाई पारिश्रमिक पनि दिनुहुन्न ।

    श्रमजीविलाई भोकभोकै मर्न बाध्य बनाएर निर्मल ज्ञवाली र विष्णु सापकोटा प्रेस संगठनको काममा व्यस्त हुँदा झिल्को अलपत्र बनेको छ । झिल्को आधिकारीक रुपमा बन्द गर्ने निर्णय पनि उहाँहरु गर्न सक्नुहुन्न, किनभने उहाँहरुले प्रेस सेन्टरको नाम भँजार झिल्कोको नाममा रकम असुली गरिरहनुभएको छ भन्ने कुरा प्रेस सेन्टरकै केही नेताहरु भन्दै हिँड्ने गरेका छन् । झिल्को डटकमलाई माओवादी केन्द्रको आधिकारीक मुखपत्र हो भन्दै धम्क्यार, फकाएर र प्रभाव र प्रलोभनमा पारेर बिज्ञापन भन्दा पनि रकम असुल भइरहेको कुरा प्रेस सेन्टरकै जिम्मेवार साथीहरुबाट सुन्नु पर्दा निकै लज्जाबोध हुन्छ ।

    अध्यक्ष प्रचण्डज्यु, तपाईको पार्टीले केही महिनाअघि ‘माओवादी रुपान्तरण अभियान’ सञ्चालन ग¥यो । के यो रुपान्तरण जनताका लागि थियो कि नेताका लागि  रुपान्तरण अिभयानले निकालेको निश्कर्ष नेताहरु रुपान्तरण हुनुपर्छ, नेताहरु बिग्रए, नेताहरु भ्रष्ट भए, नेताहरु दलाल भए, नेताहरु चुनाव जितेर सहर छिरेपछि उतै कमाउ धन्दामा लागे भन्ने होइन मैंले चिनेको, जानेको र भोगेको प्रेस सेन्टरका नेताको त यस्तो चालामाला छ भने अन्य भातृ संगठनका नेताहरुको चालामाला र धन्दा के होला, के यो कुरा सहजै अनुमान लगाउन सकिँदैन, माओवादी पार्टी हरेक चुनावको नतिजामा खच्किँदै जानु, ओरालो लाग्दै जानु र आज प्रत्यक्षमा १८ सिट मात्र जित्नु के यहाँ भित्र मौलाउँदै गाएको यी ठेकेदारी, दादागिरी, अरुलाई दासझैँ सम्झिनु, आफु नसच्चिनु र अरुमाथि मात्र दोषारोपण गर्नु हैन र पार्टी अध्यक्षज्यु, केही हप्ताअघि संघीय सरकार सञ्चार, सुचना तथा प्रविधि मन्त्रालय अन्तर्गत न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्ष पदका लागि आवेदन माग गरिएको थियो ।

    सो पदमा पुनः निवर्तमान अध्यक्षलाई पुनर्वाहाली गरियो । किनभने उहाँ जनयुद्ध लडेको व्यक्ति हो रे ! मन्त्रालयका सचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले व्यावसायीक कार्ययोजना, अन्तर्वार्ता र प्रेजेन्टेशनका आधारमा भन्दै उही व्यक्तिलाई छानोट ग¥यो ।झट्ट हेर्दा प्रकृया त पुग्यो तर तपाइँले हरेक कार्यक्रमका सम्बोधनमा दिने मन्तव्य सुशासन र पारदर्शीता त्यहाँ ह्वाङ्गै–छ्याङ्गै भएर लाजमर्दो स्थिति देखियो । कुरा के भयो भने, न्युनतम पारिश्रमिक निर्धारण समितिमा पाँच जनाको आवेदन परेको थियो, त्यसमा पनि प्रेस सेन्टरका अध्यक्ष जुगल, उपाध्यक्ष निर्मल ज्ञवालीहरुले नै मन्त्रीलाई एक अमुक व्यक्तिको नाम लिएर उहाँले जनयुद्ध लडनुभएको हो, उहाँ नै अध्यक्षमा छनोट हुनुपर्छ भन्ने दबाब सिर्जना गर्नुभयो । अन्ततः उहाँहरुको अगाडि विभागीय मन्त्रीको पनि केही लागेन, भयो त्यही ।


    माओवादी शान्ति प्रकृयामा आएको झण्डै २० वर्ष हुनैलाग्यो । राज्यका हरेक अंगहरुमा नियुक्ति गर्दा उही जनयुद्धमा लागेको एउटै व्यक्तिले मात्र पटक–पटक अवसर पाउने हो भने अन्य नागरिक तथा व्यक्ति माओवादी पार्टीमा किन जोडिने यो माओवादी भित्र झाँगिएको गलत प्रबृत्ति हो । यो तत्काल निस्तेज पार्नुपर्छ । कोही व्यक्ति जनयुद्ध हुँदा नावालक थियो, जन्मिएकै थिएन भने ऊ जनयुद्धमा सामेल हुन नसक्नुमा उसको के दोष ऊ जान्ने, बुझ्ने भएपछि के ग¥यो भन्ने योगदानबाट उसको मुल्याङ्कन हुन नसक्नु माओवादीको ठुलो भुल हो । नेपाल पत्रकार महासंघको निर्वाचन यही जेठ २६ गते हुँदैछ । निर्वाचनमा केन्द्रदेखि प्रदेशहुँदै जिल्लासम्म उम्मेदवारी दिन पत्रकार साथीहरु तम्तयार भएर बसेका छन् ।

    टिकट पाउँन केही पत्रकार नेताको चाकडी गर्न घरदैलो चाहार्दै छन् । विशेषतः प्रेस सेन्टरले उम्मेदवार चयन गर्दा जनयुद्धमा फलानोको भुमिका के थियो, भन्ने मात्र कुरा नगरेर सबै पक्षको अध्ययन गर्ने, श्रजीविको हकका बारेमा आवाज उठाउने, कार्यान्वयन गर्ने हो भने अधिकाँश जिल्ला प्रदेश र केन्द्रमा प्रेस सेन्टरले खडा गरेका उम्मेदवारले विजय हासिल गर्ने निश्चित छ । तर प्रेस सेन्टरकै केन्द्रीय अध्यक्ष र केन्द्रीय उपाध्यक्षले सञ्चालन गरेको झिल्कोमा श्रमको सम्मान छैन, रोजगारको सुनिष्चितता छैन,श्रमजीवि ऐन कार्यान्वयन छैन भने प्रेस सेन्टरका साथीहरुले जित्ने सम्भावना रहँदैन ।

    प्रेस सेन्टरका उम्मेदवारलाई जनयुद्ध लडेका पत्रकारले मात्र मतदान गरेभने कति मत आउला, पार्टी चोइटिएर ५–६ फ्याक भएको वर्तमान अवस्थामा त्यही २५–३० मत जति होलान् प्रेस सेन्टरमा जनयुद्ध लडेका पत्रकार । झिल्कोमा स–सम्मान काम गर्ने वातावरण सिर्जना नहुनुले प्रेस सेन्टर भनेको मजदुरमारा संगठन हो भन्ने सन्देश बाहिर प्रवाहित भएको छ । तसर्थ झिल्कोको समस्या पत्रकार महासंघको निर्वाचन अघि नै सम्बोधन गर्न जुगल–निर्मलहरुलाई प्रधानमन्त्रीले कडा निर्देशन दिन जरुरी छ । किनकी उहाँहरु तपाईकै जोडबलमा संगठनको आजको पदमा पुग्नु भएको जगजाहेर छ । अध्यक्ष प्रचण्डज्यु, तपाईको सुशासनको नारा, योजना र सपनालाई साकार पार्ने हो भने जनताका साना–साना समस्यालाई हल गर्नेतर्फ लाग्नुहोस् । तपाई जनतासँगको सहज पहुँचमा रहनुहोस् । तपाईको सचिवालयको घेरालाई एकदम सजिलो र सहज बनाउनुहोस् ।

    हिजो पुर्व राजा ज्ञानेन्द्र साहको शासन सत्ताको आखिरी समयमा उनलाई गतल सुझाव, सल्लाह दिने एउटा झुण्डले घेरेर राखेको थियो । ज्ञानेन्द्र शाह तिनैका कुरा सुनेर एक पछि अर्को गलत निर्णय गर्न हौसिएका थिए । तपाई पनि त्यस्ता गलत झुण्डलाई बेलैमा चिन्नुहोस् र आफु बच्नुहोस् । सचिवालय चुस्त बनाउनुहोस् । सचिवालयमा रहेका लोभिपापीहरुलाई बेलैमा चिनेर गलहत्याउनुहोस् । त्यस्ता गलत तत्वहरु प्रेस सेन्टरमा छन् र हरेक भातृ संस्थामा छन् । तिनीहरुको पहिचान गर्न ढिला नगर्नुहोस् ।
    तपाइँको शुभचिन्तक ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ