शनिबार, जेठ ५ गते २०८१

विश्वकप क्रिकेट : सेमीफाइनलमा पुग्ने सम्भावना कसको कति ?

विश्वकप क्रिकेट : सेमीफाइनलमा पुग्ने सम्भावना कसको कति ?

अखबार दैनिक
मंगलबार, कात्तिक १४ २०८०
  • विश्वकप क्रिकेट : सेमीफाइनलमा पुग्ने सम्भावना कसको कति ?

    एजेन्सी - एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत लिग चरणमा सबै टिमले ६–६ वटा म्याच खेलिसकेका छन् । अब सबै टिमले तीन–तीन म्याच खेल्न बाँकी छ । कुल १० टिम सहभागी विश्वकप प्रतियोगितामा अहिलेसम्म आफ्ना सबै म्याच जितेर भारत अंक तालिकाको पहिलो नम्बरमा छ । साविक विजेता इङ्ग्ल्याण्ड भने ६ मध्ये एउटामात्र म्याच जितेर अंकतालिकाको पुछारमा छ ।

    images

    प्राविधिक रुपमा अहिलेसम्म कुनै पनि टिमले सेमीफाइनलका लागि आफूलाई पूर्ण रुपमा सुरक्षित तुल्याइसकेका छैनन् । अर्थात्, केही चामत्कारिक परिणाम आएको खण्डमा अंक तालिकाको पुछारमा रहेको इङ्ग्ल्याण्ड पनि सेमीफाइनलमा पुग्ने गणितीय सम्भावना कायम छ ।

    भारत : १२ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको भारतले अब श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्याण्ड्ससँग खेल्न बाँकी छ । बाँकी तीनमध्ये कुनै एक म्याच जितेमा भारत सेमीफाइनलमा पुग्नेछ । अहिलेसम्मको अवस्थामा भारतको सेमीफाइनलमा पुग्ने सम्भावना ९९.९ प्रतिशत छ ।

    दक्षिण अफ्रिका : ६ म्याच खेलिसकेको दक्षिण अफ्रिका अंकतालिकामा १० अंकसहित दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले अब न्युजिल्याण्ड, भारत र अफगानिस्तानसँग खेल्न बाँकी छ । दक्षिण अफ्रिकाले अब एउटा खेल जितेमा सेमीफाइनलमा आफूलाई लगभग सुरक्षित गर्नेछ भने दुई म्याच जितेमा निश्चित रुपमा सेमीफाइनलमा पुग्नेछ । गणितीय रुपमा दक्षिण अफ्रिकाको सेमीफाइनलमा पुग्ने सम्भावना ९५ प्रतिशत छ ।

    न्युजिल्याण्ड : अंक तालिकामा तेस्रो नम्बरमा रहेको न्युजिल्याण्डको ८ अंक छ । उसले अब पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंकासँग खेल्न बाँकी छ । सेमीफाइनलमा पुग्न न्युजिल्याण्डले कम्तीमा दुई म्याच जित्नैपर्ने छ । कम्तीमा दुई म्याच जित्न नसके न्युजिल्याण्डले अरु टिमको नतिजामा भर परेरमात्र सेमीफाइनल यात्रा तय गर्नेछ । यस अर्थमा न्युजिल्याण्डको सेमीफाइनलमा पुग्ने सम्भावना ७७ प्रतिशत छ ।

    अस्ट्रेलिया : अंक तालिकाको चौथो नम्बरमा रहेको अस्ट्रेलियाले अब बंगलादेश, अफगानिस्तान र इङ्ग्ल्याण्डसँग खेल्न बाँकी छ । लगातार चार खेलमा जित हासिल गरेको यो टिमले अब कम्तीमा दुई म्याच जितेको खण्डमा सेमीफाइनल यात्रा पक्का हुनेछ । अस्ट्रेलिया सेमीफाइनलमा पुग्ने सम्भावना ७५ प्रतिशत छ ।

    अफगानिस्तान : शक्तिशाली मानिएका टिमलाई पराजित गर्दै अंक तालिकाको पाँचौँ नम्बरमा पुग्न सफल अफगानिस्तानले आफ्ना बाँकी तीन वटै म्याच जितेको खण्डमा सेमीफाइनल पुग्ने सम्भावना रहन्छ । गणितीय रुपमा अफगानिस्तान सेमीफाइनलमा पुग्ने सम्भावना ३२ प्रतिशत छ ।

    श्रीलंका : श्रीलंकाले आफ्ना बाँकी सबै म्याच जितेको खण्डमा मात्र सेमीफाइनल यात्राको सम्भावनालाई कायम राख्न सक्छ । यस अतिरिक्त उसले अस्ट्रेलिया, न्युजिल्याण्ड र अफगानिस्तानमध्ये कुनै दुई टिमले १० अंक पार गर्न नसकुन् भन्ने आश गर्नुपर्ने छ । यस अर्थमा श्रीलंका सेमीफाइनलमा पुग्ने सम्भावना ७ प्रतिशतमात्र छ ।

    पाकिस्तान : पाकिस्तानको अवस्था पनि श्रीलंकाजस्तै छ । पाकिस्तानले आफ्ना बाँकी सबै म्याच फराकिलो अन्तरले जित्नुपर्ने मात्र होइन, न्युजिल्याण्ड, अस्ट्रेलिया र अफगानिस्तानको नतिजामा पनि भर पर्नुपर्ने छ । यदि ती तीन टिमले १० भन्दा बढी अंक हासिल गरेमा पाकिस्तान सेमीफाइनलको यात्राबाट स्वतः बाहिरिने छ । अहिलेको अवस्थामा पाकिस्तान सेमीफाइनलमा पुग्ने सम्भावना ७ प्रतिशतमात्र छ ।

    370306487_1254813128529412_5617362155216655979_n_shvyxh6WrN.webp

    नेदरल्याण्ड्स : नेदरल्याण्ड्स पनि अंक तालिकामा श्रीलंका र पाकिस्तानकै अवस्थामा छ । त्यसैले सेमीफाइनलमा पुग्नका लागि नेदरल्याण्ड्सले पनि आफ्ना बाँकी तीन म्याच भारी अन्तरले जितेर अन्य टिमको नतिजामा भर पर्नुपर्ने अवस्था छ । अहिलेको अवस्थामा नेदरल्याण्ड्स सेमीफाइनलमा पुग्ने सम्भावना ६ प्रतिशत छ ।

    बंगलादेश : ६ म्याचमा ५ हार झेलिसकेको बंगलादेशको सेमीफाइनल पुग्ने बाटो लगभग बन्द भइसकेको छ । किनकि बंगलादेशले आफ्ना बाँकी तीन वटै म्याच जितेको खण्डमा उसको ८ अंक हुनेछ । तर अहिले नै अंक तालिकामा चार वटा टिम ८ अंक वा त्योभन्दा बढी अंक लिएर बसिसकेका छन् । त्यसैले शीर्ष चारमा रहेका टिमले आफ्ना म्याच जति जित्दै जान्छन्, बंगलादेशको सेमीफाइनल यात्रा उति टाढिँदै जानेछ । अहिलेको अवस्थामा बंगलादेश सेमीफाइनलमा पुग्ने सम्भावना ०.७ प्रतिशतमात्र छ ।

    इङ्ग्ल्याण्ड : बंगलादेशको जस्तै अवस्था इङ्ग्ल्याण्डको पनि छ । अहिलेको अवस्थामा इङ्ग्ल्याण्ड सेमीफाइनलमा जाने सम्भावना ०.६ प्रतिशतमात्र छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार