काठमाडौँ, ७ असार । आईसीसी विश्वकप क्रिकेट छनोटमा आज नेपाल वेष्टइन्डिजसँग भिड्दैछ । नेपालले दुईपटकको एकदिवसीय तथा दुई पटकको टी–ट्वान्टी विश्वकप च्याम्पियन वेस्ट इन्डिजसँग पहिलो पटक खेल्ने भएको हो।
नेपाल र वेष्टइन्डिजबीचको खेल हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ। यसअघि नेपालले टी–ट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन।
वेष्टइन्डिजले आइसीसी एकदिवसीय विश्वकपको पहिलो तथा दोस्रो संस्करणको उपाधि जितेको थियो। १९७५ मा इंग्ल्यान्डमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा अष्ट्रेलियालाई पराजित गरि वेस्ट इन्डिजले उपाधी जितेको थियो।
यसअघि नेपाल र जिम्बावेबीचको १८ जुन अर्थात् असार ३ मा भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको थियो । त्यस्तै, जुन २० अर्थात असार ५ मा भएको दोस्रो खेलमा नेपालले अमेरीकालाई ६ विकेटले हराएको थियो ।
अब नेपालले अर्को खेल असार ९ गते नेदरल्याण्डस विरुद्ध खेल्नेछ । प्रतियोगितामा सहभागी १० टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ ।
विश्व कप छनोट प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । यो प्रतियोगिता असार ३ देखि २४ गतेसम्म जिम्बावेमा हुनेछ । दुवै समूहका शीर्ष तीन टोली ‘सुपर सिक्स’ मा पुग्नेछन् ।
‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले विश्व कपमा स्थान बनाउनेछन् ।
जसबाट सुपर सिक्समा अर्को समूहबाट आउने तीन टोलीसँग खेल्नुपर्ने हुन्छ । विश्वकप क्रिकेट यसै वर्षको अक्टोबर नोभेम्बरमा भारतमा आयोजना हुदैछ ।