शुक्रबार, मंसिर ७ गते २०८१

नेपालविरुद्ध भुटान : किरण र चेन्चोको भिडन्त

नेपालविरुद्ध भुटान : किरण र चेन्चोको भिडन्त

अखबार दैनिक
आइतबार, चैत १२ २०७९
  • नेपालविरुद्ध भुटान : किरण र चेन्चोको भिडन्त

    काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा नेपालले मंगलबार चिरपरिचित प्रतिद्वन्दी भुटानको सामना गर्दैछ ।

    images

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ । किनकि दुई टोलीबीचको भिडन्तमा दुई कप्तानको टकराब देखिनेछ ।

    नेपाल कप्तान तथा गोलकिपर किरण चेम्जोङको नेतृत्वमा मैदान उत्रने छन् । भुटानी टोलीको नेतृत्व फरवार्ड चेन्चो ग्याल्सेनले गर्ने छन् । संयोग किरण र चेन्चो भारतीय क्लब पन्जाबबाटै सँगै खेल्ने गर्छन ।  

    नेपाली फुटबललाई जति नजिकबाट चेन्चोले बुझेका छन् सायदै अन्य कुनै दक्षिण एसियाली खेलाडीले बुझेका होलान् । स्पष्ट नेपाली बोल्ने चेन्चो अन्य दक्षिण एसियाली खेलाडी भन्दा नेपाली समर्थकमाझ लोकप्रिय छन् । चेन्चो नेपाली समर्थकमाझ भुटानी रोनाल्डोका रुपमा चर्चित छन् ।

    ३२ खेलमा ११  गोल गरिसकेका उनी भुटानका लागि सर्वाधिक गोल गर्ने खेलाडी समेत हुन् । चेन्चो र नेपालबीचको सम्बन्धलाई अझै सुमधुर पार्न 'ए' डिभिजन लिग क्लब मछिन्द्रले गर्दैछ । नयाँ सिजनको लिगका लागि मछिन्द्रले चेन्चोलाई अनुबन्ध गर्दैछ ।  यद्दपी आधिकारिक घोषणा हुन बाँकी रहेको छ ।

    चेन्चोलाई नेपाली फुटबलसँग थप नजिक बनाउने अर्को कारण कप्तान तथा गोलरक्षक किरण हुन् । क्लब फुटबलमा एकै टिममा रहेका किरण र चेन्चोबीच ठट्टा हुनेगर्छ । चेन्चोलाई किरण भन्ने गर्छन्, 'चेन्चो तिमीले मलाई कहिल्यै गोल लगाउन सक्दैनौ । तिम्रो प्रहार म सजिलै रोकिदिन्छु ।'

    पन्जाबले यस सिजनको हिरो आईलिगको उपाधि उचाल्यो । पन्जाबलाई इन्डियन सुपर लिगमा बढुवा गराउन दुबैको योगदान उत्तिकै रह्यो । तर, मंगलबार भने दुबै खेलाडी एक अर्काविरुद्ध उत्रने छन् । किरण चेन्चोको प्रहार रोक्ने प्रयासमा हुनेछन् । चेन्चो किरणविरुद्ध गोल गर्न प्रयास गर्नेछन् । कसले बाजी मार्छन ? ९० मिनेटको खेलले बताउनेछ ।

    चेन्चोले नेपालविरुद्ध खेल्दै डेब्यु गरेका थिए । सन् २०११ मा पोखरा रंगशालामा भएको मैत्रीपूर्णमा चेन्चोले डेब्यु गरेका थिए । नेपालले २-१ को जित निकालेको खेलमा चेन्चोले एक गोल गरेका थिए । किरणविरुद्ध चेन्चोले गोल नगरेको भने हैन । चेन्चोले डेब्युमै किरणविरुद्ध गोल गरेका थिए । चेन्चोको डेब्यु गोलनै किरणविरुद्ध आएको थियो । 

    भुटानविरुद्ध २०११ को मार्च १९ मा पोखरा रंगशालामा ४६ औं  मिनेटमा रितेश थापाको स्थानमा किरणले नेपालको गोलपोस्ट सम्हाल्ने मौका पाएका थिए । सुरुआती-११ मै रहेका चेन्चोले खेलको ९० औं मिनेटमा किरणविरुद्ध गोल गरेका थिए ।

    भुटान टोलीमा निरन्तर छाईरहेका चेन्चोले दोस्रो पटक २०१८ मा किरणविरुद्ध  खेलेका थिए ।  साफ च्याम्पियनसिप अन्तर्गत बंगलादेशको ढाकामा भएको खेलमा भुटान ४-० ले पराजित भएको थियो । समूह चरण अन्तर्गतको त्यस खेलमा चेन्चोले किरणविरुद्ध गोल गर्न सकेनन् । झन्डै ४ वर्षपछि भुटान अन्तराष्ट्रिय खेलका लागि नेपाल आईपुगेको हो । त्यस अवसर थ्री नेसन्स कपले जुराएको हो ।

    पहिलो खेलमा भुटानले लाओसविरुद्ध २-१ को हार व्यहोरेको छ । अब नेपालसँगको खेल भुटानका लागि महत्वपूर्ण रहेको छ । भुटानलाई फाइनल पुग्न नेपालविरुद्धको खेल जित्नै पर्ने दबाब रहेको छ ।

    अंक गणितीय हिसाबले नेपाल लाओस र भुटान तीनै टोलीको फाइनल पुग्ने सम्भावना उत्तिकै रहेको छ ।  पहिलो खेलमा नेपालसँग पराजित लाओसले दोस्रो खेलमा भुटानलाई हराएको हो । अंक तालिकाको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

    अब नेपाल र भुटानबीचको खेलले फाइनल पुग्ने टोलीको तय हुनेछ । नेपाल र भुटानबीचको खेल मंगलबार साँझ ६ बजे सुरु हुनेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ