काठमाडौं । नेपालमा आयोजना हुने सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कप २०२३ को मिति तय भएको छ ।
नेपाल भलिबल संघ (एनभीए) ले आज (शुक्रबार) सम्मेलनको आयोजना गरि काभा महिला च्यालेन्ज कप आगामी जेठ ६ देखि १५ गतेसम्म आयोजना हुने जानकारी गराएको हो प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एशियाका ८ राष्ट्रको सहभागीता रहने छ ।
जसमा आयोजक नेपालसँगै बंगलादेश, भारत, माल्दिभ्स, श्रीलंका, कजाकस्तान, कीर्गिस्तान र उज्जवेकस्तान रहेका छन् ।एनभीएका अनुसार २ करोड ५० लाख अनुमानित खर्च रहको प्रतियोगिताको सबै खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुनेछन् ।
यस प्रतियोगिता आयोजनाका लागि नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र काभाका अध्यक्ष मोहमद लाथिफले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
केहि महिना अघि थाईल्याण्डको बैंककमा भएको काभाको बैठकबाट प्रतियोगिता नेपालमा आयोजना हुने निर्णय भएको थियो । सोहि बैठकको दौरान चन्द र लाथिपले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।