शुक्रबार, मंसिर ७ गते २०८१

बुढासुब्बा गोल्डकप : उपाधिका लागि भीड्दै एभिनियर एफसी र केएफटीसी

बुढासुब्बा गोल्डकप : उपाधिका लागि भीड्दै एभिनियर एफसी र केएफटीसी

अखबार दैनिक
शुक्रबार, फागुन १९ २०७९
  • बुढासुब्बा गोल्डकप : उपाधिका लागि भीड्दै एभिनियर एफसी र केएफटीसी

    सुनसरी — बुढासुब्बा टुबोर्ग गोल्डकपको २३ औ संस्करणको शनिबार हुने फाइनल खेल रोमाञ्चक हुने भएको छ । यसअघि मेची नेत्रालय काँकडभिट्टा गोल्डकप र हेटौंडा गोल्डकपमा भेट भइसकेका टिम हुन् काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) र क्यामरुनी क्लब एभिनियर एफसी ।

    images


    बुढासुब्बा गोल्डकपको ट्रफी । तस्बिर : प्रदीप मेन्याङ्बो/कान्तिपुर
    संयोगकले फेरि उपाधिकै लागि धरान रंगशालामा दुई टिम आमनेसामने हुने भएकाले खेल रोमाञ्चक हुने निश्चित छ । फागुन ८ गते मात्रै वाग्मती प्रदेशको राजधानी हेटौंडाको मैदानमा चिरपरिचित खेलाडीहरू सम्मिलित केएफटीसीसँग क्यामरुनी टिमको भेट भएको थियो ।

    क्यामरुनी टिमले बुढासुब्बा गोल्डकपको अन्तिम सेमीफाइनलमा एन्फा मोरङलाई २–० गोलले हराउँदै केएफटीसीसँग भेट पक्का गरेको हो । यो टिम यसअघि हेटौंडामा सम्पन्न सहिदस्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दोस्रो सेमीफाइनल खेलमा हिमालयन शेर्पा क्लबसँग पराजित भएको थियो । अहिले सोही हिमालयन शेर्पा क्लबकै अधिकांश खेलाडीहरु झापाको केएफटीसीमा आबद्ध भएर खेलिरहेका छन् ।

    केएफटीसीले पाहुना टोली भारतको कर्स्याङको युनाइटेड कर्स्याङ फुटबल क्लबलाई ३–१ गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेपछि क्यामरुनी टिमसँग फेरि भीडन्त पक्का भएको हो । यसअघि केएफटीसीले बुढासुब्बा गोल्डकपको १९ औं संस्करणमा सहभागिता जनाएको थियो ।

    क्यामरुनी टिम एभिनियरका प्रशिक्षक आशिक थापा मगरका अनुसार दुई वर्षअघि स्थापित क्लबले करिब डेढ दर्जन टुर्नामेन्टमा सहभागिता जनाइसकेको छ । एभिनियरले हालै बर्दिबासमा सम्पन्न मेयर गोल्डकपको फाइनलमा धरानकै आयोजक धरान फुटबल क्लबलाई हराउँदै उपाधि जितेको थियो । उसले २०७८ सालमा हेम्जा गोल्डकप र भरौल गोल्डकप जितेको थियो ।

    प्रशिक्षक मगरले भने, ‘हामीसँग शारीरिक रूपमा अनुभवी, अग्ला र बलिष्ठ खेलाडी रहेका छन् । त्यसैले उपाधि हाम्रै पोल्टामा जान्छ । केएफटीसीका खेलाडीका खेल पनि हामीलाई थाहा भएकाले सहजै जित्छौं ।’ उनले जित्ने लक्ष्यका साथ मैदानमा खेलाडी उतार्ने रणनीति अपनाउने बताए । उनले केएफटीसीसँग यसअघि भोगेको पराजयको बदला लिने अवसरको रुपमा धरान रंगशालालाई सदुपयोग गर्ने बताए ।

    केएफटीसीका प्रशिक्षक मुन्ना साउदेन लिम्बूले बुढासुब्बा गोल्डकपको टाइटल यसपटक काँकडभिट्टा पुग्ने दाबी गरे । उनले भने, ‘एभिनियरलाई हामीले पटकपटक पराजित गरेका छौं । यसपटक धरान रंगशालामा फेरि पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि उचाल्ने रणनीतिकासाथ मैदानमा उत्रने छौं ।’

    उपाधि विजेताले नगद १० लाख रुपैयाँ, उपविजेताले नगद ५ लाख रुपैयाँ हात पार्ने छन् भने उत्कृष्ट खेलाडीले नगद १ लाख पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ