पेरिस: पेरिस सेन्ट जर्मन (पीएसजी)का फुटबलर असफर हाकिमीविरुद्ध बलात्कारको अभियोगमा अनुसन्धान सुरु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।
पेरिस बाहिरी क्षेत्रमा पर्ने नान्टेरे प्रोसेक्युटर अफिसले अनुसन्धानको नेतृत्व गरिरहेको स्रोतलाई उद्धृत गर्दै सीएनएनले बताएको छ।
स्पेनमा जन्मिएका मोरक्कोका राष्ट्रिय खेलाडी हाकिमी पीएसजीबाट व्यावसायिक फुटबल खेल्छन्। गत डिसेम्बरमा कतारमा सम्पन्न फिफा विश्वकपमा मोरक्को सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी मुलुक बन्दा हाकिमीको प्रदर्शन महत्त्वपूर्ण थियो।
सीएनएनले यसबारे पीएसजी र हाकिमीसँग प्रतिक्रियासमेत मागेको उल्लेख गरेको छ। पछिल्लो समय उत्कृष्ट लयमा रहेका हाकिमी सोमबार राति घोषणा भएको टिम अफ दी इयरमा पनि समावेश भएका थिए।