परासी : नवलपरासीको गण्डक नहरमा एक महिलाले दुई छोरासहित हाम फालेकी छन्। मंगलबार दिउँसो २ बजेतिर उनले दुई छोरा लिएर हाम फालेकी हुन्।
उनीहरूको अवस्था अज्ञात छ। नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा कोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए।
मानसिक सन्तुलन बिग्रेको उनले दुवै छोरालाई दुईतिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ।
उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उनले के कति कारणले हाम फालिन् भन्नेबारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनैजनाको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताए।