बुधबार, कात्तिक २१ गते २०८१

प्याराग्लाइडिङमा महिला पाइलट

प्याराग्लाइडिङमा महिला पाइलट

अखबार दैनिक
सोमबार, फागुन १ २०७९
  • प्याराग्लाइडिङमा महिला पाइलट
     

    काठमाडौँ — भाषा पढेर जापान जाने तयारीमा रहेकी बुटवलकी सविता तामाङ दाइको सुझावपछि स्वदेशमै रोकिइन् । परिवारका अन्य सदस्यहरूले त ‘यो क्षेत्रमा जोखिम हुन्छ’ भन्दै नलाग्न दबाब दिएका थिए । तर प्याराग्लाइडिङ क्षेत्रमा महिला पाइलट निकै कम भएको थाहा पाएपछि भने यसतर्फ तामाङको आकर्षण बढ्यो ।

    images

    परिवारका सदस्यले त माने । तर बुबालाई फकाउन भने उनलाई करिब तीन महिना लाग्यो । अन्ततः बुबाले मानेपछि उनी तालिमका लागि एड्भेन्चरस् इन्टरनेसनल प्याराग्लाइडिङ स्कुल पुगिन् ।

     
    स्याङ्जाको स्वरेकस्थित बाबु स्कुलमा दुई वर्षको कोर्स लिएपछि उनी टेन्डम अर्थात् व्यावसायिक उडानमा जोडिएकी हुन् । होस्टलमै बसेर पढ्दा, प्याराग्लाइडिङको सामान किन्दा र स्कुलको गरेर भन्डै २० लाख रुपैयाँ खर्चिएको समेत उनले बताइन् । विगत ६ वर्षदेखि प्याराग्लाइडिङ उडाइरहेकी उनले सिजनका बेला दैनिक ४ देखि ५ वटासम्म उडान गर्छिन् । बेसिजनमा भने महिनामा ५/७ वटा मात्रै फ्लाइट हुने उनको भनाइ छ । सुरुमा यस क्षेत्रमा नलाग्न दबाब दिएका परिवारका सदस्य तथा आफन्तहरू नामसँगै दाम पनि हुन थालेपछि भने पछिल्ला दिनमा खुसी हुने गरेको उनको अनुभव छ ।

    नेपालमा व्यावसायिक रूपमा सन् २००० देखि नै प्याराग्लाइडिङ सञ्चालनमा आएको भए पनि महिला पाइलट थिएनन् । ५/६ वर्षदेखि मात्रै प्याराग्लाइडिङमा महिला पाइलटहरू बढेका नेपाल हवाई खेलकुद संस्था (ना) का अध्यक्ष सुनील भट्टराईले बताए । ‘सुरुवातमा पुरुष मात्र थिए, तर विस्तारै महिला पाइलटहरू पनि जोडिए । दुई/तीन जना महिलाले त करिब दस वर्षदेखि नै प्याराग्लाइडिङ उडाइरहेका छन्,’ उनले भने । उनका अनुसार हाल नेपालमा करिब १५ जनाको हाराहारीमा महिला पाइलट छन् । सविता जस्तै ओपन स्काई प्याराग्लाइडिङकी सञ्चालक ३१ वर्षीया शर्मिला शर्मा पनि ६ वर्षदेखि उडान भरिरहेकी छन् । दस वर्षदेखि कम्पनी चलाइरहेकी उनलाई प्याराग्लाइडिङ गर्न आउने महिला ग्राहकले सधैं एउटै प्रश्न सोध्थे, ‘महिला पाइलट छैनन् ?’ त्यही कारण उनलाई पनि प्याराग्लाइडिङ उडाउने रहर जागेको हो । त्यसपछि तालिम लिएकी उनले व्यावसायिक उडान भर्दै आएकी छन् ।

    तालिमपछि करिब एक हजार सोलो उडान भरेपछि बल्ल व्यावसायिक अर्थात् टेन्डम उडान भर्न पाइने उनले बताइन् । ‘आफैंले उडाउन सक्ने भएपछि महिला पाइलट छैनन् भन्नुपरेको छैन,’ उनले भनिन्, ‘कतिपय अवस्थामा प्याराग्लाइडिङ गर्न डराउने मान्छे पनि महिला पाइलट देखेपछि उड्न तयार हुन्छन् ।’ आकाशमा उड्ने भएकाले केही जोखिम भए पनि चरा जसरी उड्न पाउँदा छुट्टै आनन्द हुने उनको अनुभव छ । महिला पाइलट देख्दा महिलाहरूसँगै पुरुषहरू पनि मोटिभेट भएको देखेको उनले बताइन् । उनका अनुसार सिजन नभएकाले हाल दैनिक एक/दुईवटा मात्र उडान भइरहेका छन् ।

    ओखलढुङ्गाकी ३७ वर्षीया सुस्मिता सुनुवार पनि विगत ६ वर्षदेखि नै उडान भर्दै आएकी छन् । एड्भेन्चरमा रुचि भएकी सुनुवार र्‍याफ्टिङ र कायाकिङ गर्थिन् । सुस्मिताका श्रीमान्ले प्याराग्लाइडिङ उडाउन तालिम दिन थालेपछि भने उनलाई पनि उडाउने रहर जाग्न थाल्यो । सन् २००९ मै सोलो उडान गर्न सिकेकी सुस्मितालाई कायाकिङ र र्‍याफ्टिङभन्दा प्याराग्लाइडिङ नै रमाइलो लाग्न थाल्यो । जसका कारण उनले पछिल्लो समय दैनिक रूपमै व्यावसायिक उडान गरिरहेकी छन् । २००९ मै प्याराग्लाइडिङ उडाउन सिकेकी भए पनि सुनुवार सन् २०१७ देखि मात्रै व्यावसायिक उडानतर्फ लागेकी हुन् । श्रीमान्ले प्याराग्लाइडिङ उडाउन छाड्न भने पनि उनको मन भने भरिएको छैन ।

    ‘श्रीमान्ले त नउडाउन भन्नुहुन्छ, तर मलाई भने आफू उड्न, अनि अरूलाई पनि उडाउन मन लाग्छ,’ उनले भनिन्, ‘आँखाले देखुन्जेल र कानले सुनेसम्म उडाउने आँट छ ।’ प्याराग्लाइडिङमा मानसिक रूपमा मात्र तनाव हुने तर कायाकिङ र र्‍याफ्टिङ मानसिकसँगै शारीरिक तनाव पनि हुने उनको अनुभव छ । ‘प्याराग्लाइडिङमा पनि सिक्ने बेलामा दुवै तनाव हुन्छ, तर उड्न थालेपछि सबै सोचमा भर पर्छ । त्यसैले यही सजिलो लाग्छ,’ उनले भनिन् । सैद्धान्तिक र प्रयोगात्मक गरी १० वटाभन्दा बढी परिक्षा दिएर मात्रै पाइलटले लाइसेन्स पाउँछ । हरेक वर्ष पाइलटको सामान अर्थात् क्यानोफी, हार्नेस, हेलमेट, प्यारासुट परीक्षण गरेर मात्रै लाइसेन्स नवीकरण हुने उनले बताइन् ।

    सविता, शर्मिला र सुस्मिता मात्र होइनन्, त्रिशा श्रेष्ठ, अनुष्का सुनुवार, दुर्गामाया गुरुङ, सोममाया गुरुङ, किसु पौडेल, विवी सिन्तानलगायतका महिलाले हाल प्याराग्लाइडिङ उडाइरहेका छन् । पुरुष पाइलटका श्रीमती तथा परिवारका अन्य सदस्यहरू पनि यही क्षेत्रमा काम गर्ने र यही वातावरणमा हुर्केका महिलाहरू यसतर्फ आकर्षित भएका भट्टराईले बताए । त्यसका साथै, एड्भेन्चरमा रुचि राख्ने महिलाको पनि पछिल्लो समय यसतर्फ आकर्षण बढेको उनको भनाइ छ ।

    नामा आबद्ध ६१ वटा कम्पनीमध्ये हाल ५५ प्याराग्लाइडिङ कम्पनी मात्रै दैनिक रूपमा सञ्चालन छन् । नामा हाल ३ सय ५० जना पाइलट आबद्ध छन् । तीमध्ये महिला र पुरुष गरी २ सय ५० पाइलट सक्रिय रहेका छन् । पोखरामा हुने प्याराग्लाइडिङको हाल टेक अफ प्वाइन्ट मान्द्रेढुंगा र अवतरण पामेमा हुन्छ । यसअघि सराङकोट, तोरीपानी, मान्द्रेढुंगा र तामागी जोनबाट टेक अफ हुने गरेको नाका अध्यक्ष भट्टराईले बताए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अहिले कास्कीकोटस्थित मान्द्रेढुंगालाई एक महिनाका लागि अस्थायी अनुमति दिइएको हो । ‘मान्द्रेढुंगा सराङकोटबाट ५ किमि र तोरीपानीबाट डेढ किमि पश्चिमतर्फ पर्छ,’ उनले भने, ‘अहिले अफसिजन भएकाले एउटै जोनबाट उडिरहेको छ, तर सिजनमा चाप पर्छ भन्ने हाम्रो आकलन छ । त्यसैले मान्द्रेढुंगा वरपर नै अन्य टेक अफ प्वाइन्टको खोजी भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार