२५ माघ, काठमाडौं । ए डिभिजनको फ्रेण्ड्स क्लबले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । शहीद स्मारक ए डिभिजन लिगका लागि कुपण्डोलको फ्रेण्ड्स क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक उर्जनलाई नयाँ सिजनका लागि क्लबमा भित्र्याएको हो ।
यसअघि उर्जनले ए डिभिजन लिगमा थ्रीस्टारलाई प्रशिक्षण दिएका थिए । थ्रीस्टारले भने नयाँ सिजनका लागि मेघराज केसीलाई नियुक्त गरिसकेको छ । उर्जनले साफ यू-१७ च्याम्पियनसिपमा नेपाली यू-१७ राष्ट्रिय टिम सम्हालेका थिए ।
फागुन १९ गतेदेखि सुरु हुनेछ ए डिभिजन लिगमा फ्रेण्ड्सले उद्घाटन खेलमै नवप्रवेशी एफसी खुमलटारसँग खेल्नेछ । गत सिजन फ्रेण्ड्सले मृगेन्द्र मिश्रको प्रशिक्षणमा ए डिभिजन लिग खेलेको थियो । फ्रेण्ड्सले नयाँ सिजनको लागि खेलाडी अनुबन्ध गर्ने र नवीकरण गर्ने काम तिव्र पारिरहेको छ ।
फ्रेण्ड्सले विशाल सुनार, राजेश परिवार, रुपेश केसी, डोना थापा, अमिता तामाङ जस्ता खेलाडीलाई अनुबन्ध गरिसकेको छ । यस्तै असिम भुसाल, श्यामबाबु क्याप्छाकी, आरोन थापा, प्रेम भण्डारीको सम्झौता नवीकरण गरिसकेको छ ।