काठमाडौं । सुदुरपश्चिम प्रदेश इटहरीमा जारी रहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
इटहरीको जनता क्रिकेट पार्क क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा मधेश प्रदेशलाई पराजित गर्दै सुदूर फाइनलमा प्रवेश गरेको हो । कविता कुँवर र कप्तान बिन्दु रावलले ९४ बलमा १२८ रनको कीर्तिमानी ओपनिङ साझेदारी गरेपछि सुदुरपश्चिमले मधेशलाई ११४ रनले पराजित गरेको हो ।
सुदुरपश्चिमले दिएको १८१ रनको लक्ष्य पछ्याएको मधेशले २० ओभरमा ८ विकेट गुमाएर ६६ रन मात्र बनाउन सक्यो । मधेशका लागि प्रतिमा शाह १९ रनमा आउट हुँदा सिमा कुँवरले १६ रन बनाईन् । अलिशा यादव १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सुदुरपश्चिमका लागि मनिशा चौधरी र रितु कनौजियाले समान २/२ तथा कविता कुँवर, रितु कनौजिया र स्नेहा महराले समान १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २० ओभरमा २ विकेट गुमाएर १८० रन बनाएको थियो । सुदुरपश्चिमका लागि कविता कुँवर र बिन्दु रावलले अर्धशतक बनाए । कुँवरले ५४ बलमा १२ चौका तथा १ छक्का प्रहार गर्दा ७० तथा कप्तान बिन्दु रावलले ५२ बलमा अविजित ६० रन बनाईन् ।
कविता जोशी १५ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाएर आउट भईन् । मधेशका लागि भुमि सिंह र साना प्रविनले समान १/१ विकेट लिए । अब सुदुरपश्चिमले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि शनिबार खेल्नेछ ।
आज नै हुने दोस्रो सेमिफाइनलमा प्रदेश १ र नेपाल एपीएफ क्लबका बीचमा खेल हुदैछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।