शनिबार, मंसिर ८ गते २०८१

एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

अखबार दैनिक
आइतबार, पुस २४ २०७९
  • एसियन गेम्सका लागि तेक्वान्दोले राष्ट्रिय टिम छनोट गर्दै

    काठमाडौं । खेलाडी पलायनको विकराल समस्या झेलिरहेको नेपाल तेक्वान्दोले आसन्न एसियाली खेलकुद र १४औं दक्षिण एसियाली खेलकुद (साग)लाई मध्यनजर गरी राष्ट्रिय टिम छनोट गर्ने भएको छ ।

    images

    नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय टिम तयारी उपसमितिले आइतबार वक्तव्य जारी गर्दै माघ ७ गते राष्ट्रिय टिम छनोटका लागि खुला प्रतियोगिता आयोजना हुने जनाएको छ ।

    छनोट प्रतियोगितामा सहभागी हुने खेलाडीले सम्बन्धित जिल्ला संघको सिफारिस तथा विभागीय खेलाडीको हकमा विभागको सिफारिस अनिवार्य पेश गर्नुपर्नेछ ।

    माघ ७ गते हुने प्रतियोगिताका लागि माघ ३ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने उपसमिति संयोजक राम गिरीले हस्ताक्षर गरेको वक्तब्यमा उल्लेख छ ।

    छनोट प्रतियोगितामा महिला र पुरुषको ८/८ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ ४६ केजीमूनि, ४९ केजीमूनि, ५३ केजीमूनि, ५७ केजीमूनि, ६२ केजीमूनि, ६७ केजीमूनि, ७३ केजीमूनि र ७३ केजीमाथि तौैलसमूह समावेश छन् । पुरुषतर्फ ५४ केजीमूनि, ५८ केजीमूनि, ६३ केजीमूनि, ६८ केजीमूनि, ७४ केजीमूनि, ८० केजीमूनि, ८७ केजीमूनि र ८७ केजीमाथि तौलसमूह समावेश छन् ।

    एसियाली खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गत जेठ–असारमा डेढ महिना लामो बन्द प्रशिक्षण सन्चालन गरेको थियो । गत भदौमा हुने भनिएको एसियाली खेलकुद एक वर्ष सरेपछि बन्द प्रशिक्षण स्थगित भएको थियो ।

    १३औं सागमा सर्बाधिक १२ स्वर्णसहित २९ पदक जितेको नेपाल तेक्वान्दो खेलाडी पलायनको समस्यामा छ । १३औं सागमा पदक जितेका ३४ मध्ये १३ खेलाडी विदेश पलायन भएका छन् भने दुई जनाले खेल्न छाडेका छन् ।

    राष्ट्रिय टिम तयारीका लागि भन्दै नेपाल तेक्वान्दो संघले गतवर्ष चैतको तेस्रो साता राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो । तर, त्यस प्रतियोगिताबाट छानिएका खेलाडीलाई बन्द प्रशिक्षणमा भने राखेको थिएन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ