सोमबार, वैशाख २४ गते २०८१

काठमाडौं उपत्यकाको रौनक: नवदुर्गा नाच

काठमाडौं उपत्यकाको रौनक: नवदुर्गा नाच

अखबार दैनिक
बिहीबार , पुस १४ २०७९
  • काठमाडौं उपत्यकाको रौनक: नवदुर्गा नाच

     

    नेपालमा रहेका विभिन्न जातजातिहरु मध्ये आफ्नो छुट्टै अस्तित्व र पहिचान बोकेको र कला संस्कृतिले सम्पन्न जाति नेवार हो । नेवार समुदायभित्रका विविध समुदायहरुमध्ये पनि माली समूदाय एक आफ्नै कला संस्कृति र परम्परा भएको जाति हो ।

    विशेषत नवदुर्गा नाच (धिंकाल द्यः) को जात्रासँग सम्बन्धित यस जातिको आफ्नै महत्व रहेको पाइन्छ । यस समुदायका मानिसहरुलाई मालाकार, वनमाली, वनमाला, गथु, आदि इत्यादि नामबाट पनि जानिन्छ भने विशेष गरि देवी देवताहरुको पूजा तथा जात्रासँग सम्बन्धित भएको हुँदा आदरको रुपमा उभाजूः पनि भनेर सम्बोधन गरिएको पाइन्छ ।

    images

    यही माली समूदायहरुले चलाउँदै आइरहेको विभिन्न जात्राहरु मध्ये नवदुर्गा नाच एक प्रमूख हो । भक्तपुरका विभिन्न शक्ति पीठहरु ब्रम्हायणी, महेश्वरी, कौमारी, बाराही, इन्द्रायणी, महालक्ष्मी जस्ता देवी पीठहरुको प्रतिनिधिस्वरुप विभिन्न मुकुट लगाएर नवदुर्गा गणको स्थापना भएको पाइन्छ । विशेषत भक्तपुर वनमाला गुठीबाट संञ्चालित यस नाच प्रत्येक बर्षको गणेश चर्तुर्थी (गठां मुगः) का दिन देखी विधिवत रुपमा सुरु हुने गर्दछ भने भलभल अष्टमीका दिन सम्पन्न हुने गर्दछ ।

    श्री नवदुर्गा भवानी गण नृत्य विशेष मुद्रा र विधि सहित मन्त्र उच्चारण गरी नाचिने तान्त्रिक नाच हो । यो नाच नाचिने मानिसमा सम्बन्धित देवगणहरुको मुकुट पहिरे पछि देवता प्रवेशहुने विश्वास गरिन्छ । यस नृत्यलाई अत्यन्तै श्रद्धा र मान गर्ने गरिन्छ ।

    यस नव दुर्गा नाचको उत्पतिको सम्बन्धमा एउटा रोचक पौराणिक कथन अनुसार परापूर्वकालमा भक्तपुर देखि पूर्व तर्फ घना जंगल सहित इकुडो भन्ने स्थानमा नवदुर्गा भवानी आफ्ना गण सहित विराजमान थिइन् । त्यस स्थानमा नवदुर्गा नृत्य गर्ने गर्थिइन् । एक दिन एक तान्त्रिक आचाजु आइ पुगेको बेला नवदुर्गा देव गणहरुले भेटाइ उनको भोग लिन लाग्दा त्यस तान्त्रिकले देव गणलाई विन्ती चढाए; “हे प्रभू ! देवगण मेरो भोग लिनु भन्दा पहिले प्रभुहरुको पूजा गर्न पाउँ ।” उक्त कुरालाई देवगणहरुले स्वीकारेपछि तान्त्रिकले आफनो तन्त्र विद्याको प्रयोग गरि सबै देव गणहरुलाई तारण हालेर बाँधेपछि घरमा ल्याइ गोप्य रुपमा पूजा गरि नृत्य गराउन थाले पछी उक्त गोप्य कुरालाई त्यस तान्त्रिकको गुरुले थाहा पाई उनले नवदुर्गा गणहरुलाई आफ्नो घरमा लगि गोप्य रुपमा पूजा गरि नृत्य गराउन थाले । उक्त गुरुको जात नमिल्ने श्रीमती रहेछ । गुरुले घरको सम्पूर्ण कोठाहरुको साँचो श्रीमतीलाई दिएपनि उक्त देव गण रहेको कोठाको साँचो चाँही उनीलाई कहिल्यै दिएनन् एक दिन गुरु स्नान गर्न गएको मौका छोपि श्रीमतीले उक्त कोठाको चावी खोलि भित्र गइ हेरेछन् । हेर्न नहुने मान्छेले हेरेको हुँदा कोप भई तन्त्र विद्याको प्रभावबाट मुक्त भई देवगणहरु भक्तपुरको पूर्व तर्फ जाँदै गर्दा बाटोमा एक सुँगुर भेटेको र उक्त सुँगुरको भोग लिइ (यहि कारणले गर्दा नवदुर्गा भवानीलाई सुँगुर बलि चढाइन्छ ।) अगाडि बढ्दै जाने क्रममा गुरुले उक्त कुरा थाहा पाई पुनः फर्कन आग्रह गर्दा देवगणहरुले हेर्न नहुने मानिसले हेरेको हुँदा अब आइन्दा जीवित मान्छेहरुलाई यो नाच सिकाई सबैले हेर्न हुने गरि देखाउनु भनि आदेश दिए ।

    गुरुले पनि यस कुरालाई स्वीकारी उनने आफ्नो घरमा पूजाको लागि फूल ल्याउने मालीलाई देवी नाच नाच्ने इच्छा छ कि छैन भनि सोधनी गरे । उक्त कुरालाई मालीले स्वीकार गरि आफनो फूल राख्ने भाँडो (सोकोल) मा सबै देवगणहरु राखेर ल्याइ आफना नाता कुटुम्ब भेला गराइ अरु कसैले नदेख्ने गरी नाच सिकाई श्री नवदुर्गा भवानीका गणहरुको नृत्य थालनी गरे । त्यसरी फूल राख्ने सोकोलमा नवदुर्गा भवानीका गणदेवहरु राखेर ल्याइएकोले मालीको सोकोलमा अरु मान्छेहरुले हात हाल्न हुँदैन भन्ने कथन हालसम्म पनि चलेकै छ ।

    श्री नवदुर्गा भवानीको गण नृत्यमा कुल १३ वटा मुकुट हुन्छ । श्री महादेवको मुकुट भने जिवित देवगणले लगाउँदैन । तर श्री नवदुर्गा भवानी नृत्यमा पूजागर्दा १९ जनालाई भाग चढाइने गरिन्छ, त्यसरी पूजिनेमा १३ जिवित गण लगायत देवनकिं, सिफःद्य, पात्र, खिं, तां र काँय हुन्छन् । मुकुट लगाउने गणहरुमा १) ब्रम्हायणी २) महेश्वरी ३) कौमारी ४) बैष्णवी ५) बारही ६) इन्द्रयणी ७) चामुण्डा (महाकाली) ८) महालक्ष्मी ९) भैरव १०) गणेश ११) सिंहिणी १२) ब्राहिंणी हुन् । श्री नवदुर्गा गणको नृत्य भक्तपुरमा बर्षमा २४ पल्ट देखाइन्छ भने उपत्यकाका विभिन्न स्थानहरु लगेर देखाइने प्रचलन चलिआएको छ । जस्तैः टोखा, चपली, तुप्या, देउपाटन (पशुपति) साँगा, चुगाँ, साँखु, थिमी, नगदेश, वोडे, चाँगु, बनेपा, नाला, खडपु, चौकोट, धुलिखेल, पनौती ।

    त्यस्तै काठमाडौँको हाडिगाउँमा १२ बर्षमा एकपल्ट पनि प्रदर्शन गर्ने गरिन्छ । माली समुदायका अन्य प्रख्यात नवदुर्गा गण नृत्यहरु यस प्रकार रहेका छन् : पचलीभैरव १२ बर्षे नाच (काठमाडौँ), वाघभैरव १२ बर्षे नाच (किर्तिपुर), ठेचो गण नाच १२ बर्षे नाच (ललितपुर), भद्रकाली नाच १२ बर्षे नाच (काठमाडौँ), सिकाली नाच १२ बर्षे नाच (काठमाडौँ), नरदेवीको देवी नाच, हरिसिद्धिको नाच, बुंगमतीको नवदुर्गा नाच

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ