आइतबार, जेठ ६ गते २०८१

‘नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु' : प्रधानमन्त्री

‘नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु' : प्रधानमन्त्री

अखबार दैनिक
सोमबार, वैशाख २४ २०८१
  • ‘नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु' : प्रधानमन्त्री

    २४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूबारे चिन्ता व्यक्त गरेका छन् । उनले समस्या समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरूसँग छलफल गर्दै छिटो निकास निकाल्न निर्देशन दिएका छन् ।

    images

    सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, विभागको सिस्टम देखिएका समस्या, जनतास्तरमा उठेका विषयहरू र विभागले निर्वाह गर्नुपर्ने भूमिका लगायतका विषयमा केन्द्रित रहेर विभागसँग छलफल गरेका हुन् ।

    छलफलमा प्रधानमन्त्रीले लाइसेन्सका सम्बन्धमा जनस्तरमा असन्तुष्टि र आक्रोश देखिएको बताउँदै त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिए ।

    ‘खासगरी युवाहरूले समयमै सेवा नपाएको लगायतका गुनासो राख्ने गरेका छन् । लाइसेन्स जसरी वितरण हुनुपथ्र्यो, त्यस्तो भएको छैन,’ उनले भने,‘नक्कली लाइसेन्स वितरणको कुरा पनि मैले सुनेको छु । यो समस्यालाई मैले गम्भीरतापूर्वक लिएको छु । यो समस्या तत्काल समाधान गर्नुस्।’

    छलफलमा प्रधानमन्त्रीले लाइसेन्सको प्रणालीलाई व्यवस्थित गर्नसमेत निर्देशन दिए । ‘यो नीतिगत समस्या हो कि संरचनागत हो वा हाम्रो नियतमा समस्या हो ? यसको गम्भीरता हेरी सोहीअनुरूप निरूपण गर्नुपर्छ । भइरहेको सिस्टमलाई अपडेट र अपग्रेड गर्दै नयाँ सिस्टममा अगाडि जाने तयारी गर्नुस् ।’

    प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेटको समय भएकाले कस्तो नीति र उपायहरू अपनाउँदा यस क्षेत्रको समस्या समाधान हुने गरी ठोस सुझाव प्रस्तुत गर्नसमेत निर्देशन दिए ।

    छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्याल, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजाल लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार