काठमाडौं । ज्यादती गरेको भन्दै अनामनगरमा सर्वसाधारणले काठमाडौं महानगरपालिकाको गाडी ४ घण्टा नियन्त्रणमा लिएका छन् ।
आइतबार काठमाडौंको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाइकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।
अनामनगरस्थित सिंहदरबारको पूर्वी गेट अगाडिको सडक पेटीमा, आफ्नै पसलको सटरछेउमा राखिएका मोटरसाइकल जबरजस्ती उठाएको भन्दै विरोध भएको हो । सडक पेटीमा ट्राफिक प्रहरीले एकलाइन पार्किङ गर्न दिए पनि महानगर प्रहरीले बल प्रयोग गरेर सवारी उठाएको उनीहरुको गुनासो छ ।
‘एक हप्ता अगाडिसम्म महानगर प्रहरीले एकलाइन पार्किङ गर्न मिल्ने भन्दै, पार्किङ गर्न दिइरहेको थियो । ट्राफिक प्रहरी दैनिक जो हिंड्छन्, केही भनेको छैन तर एक्कासी महानगर प्रहरी आएर ज्यादति गर्न मिल्दैन नि’ नगर प्रहरीसँग विवाद गरिरहेका एक व्यवसायीले भने । सो क्षेत्रका व्यवसायीले एकलाइन पार्किङ सडक र सडक पेटी दुवै क्षेत्रलाई असर नगरेको भन्दै महानगरले अनावश्यक रुपमा ज्यादती गरिरहेको बताएका छन् । पैदल हिंड्ने फुटपाथमा पार्किङ गरेर राखिएको ९ वटा मोटरसाइकल उठाएको काठमाडौं महानगर प्रहरीले जनाएको छ ।
अनामनगर क्षेत्रमा खटिएका नगर प्रहरी उपरीक्षक विष्णु शर्माले भने, ‘पार्किङ अनुमति नभएका, सडक र सडक पेटीमा राखिएको मोटरसाइकल उठाएर बग्गीखानामा लैजान खोज्दा केहिबेर तनाव भएको हो । उहाँहरुले निजी क्षेत्र भनेर पसल अगाडिको फुटपाथलाई भन्दै हुनुहुन्थ्यो, त्यसमै विवाद भएको हो । अहिले विवाद सुल्झिसक्यो, उहाँहरुले अब ट्राफिकबाट जरीवाना तिरेर सवारी साधन लैजानुहुन्छ ।’
शर्माका अनुसार महानगर प्रहरीलाई स्थानीयले जान नदिएपछि नगर प्रहरी राजु पाण्डे सहितको थप प्रहरी बल अनामनगर क्षेत्रमा पुगेको थियो ।
एक सर्वसाधरणले महानगर पालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको बताए । ‘राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?’ उनले भने ।