काठमाडौं । स्टार खेलाडी नेयमार घाइते भएपछि ब्राजिललाई कतारमा जारी विश्वकपमा समस्या थपिएको छ । समूह ‘जी’ अन्तर्गत बिहीबार राति सर्बियासँगको खेलमा नेयमार घाइते हुनुभएको हो ।
सर्बियाका रक्षक निकोला मिलेन्कोभिचको खराब ट्याकलका कारण दायाँ खुट्टाको एङ्कलमा चोट बोकेपछि नेयमार बाहिरिनुभएको थियो । ८९औं मिनेटमा चोटले नेमार खेल्न नसक्ने भएपछि ब्राजिलले उहाँको स्थानमा एन्टोनीलाई खेलाएको थियो ।
खुट्टाको एङ्कल सुन्निएका कारण नेयमारले जारी विश्वकप खेल्न सक्ने या नसक्ने अहिले नै भन्न नसक्ने ब्राजिल टोलीका डाक्टर रोड्रीगो लास्मारले बताउनुभएको छ । ‘‘नेयमारले खेल्ने या नखेल्ने सुन्निएको बसेपछि थप परीक्षणबाट थाहा हुनेछ । चोटको प्रकृति हेरेर मात्र नेयमारले खेल्ने या नखेल्ने निर्णय हुनेछ,’’ लास्मारले भन्नुभयो ।
ब्राजिलका प्रशिक्षक टिटेले भने नेयमारको विश्वकप यात्रा अहिले नै समाप्त भइनसकेको बताउनुभएको छ । ‘‘हामी नेयमार खेलमा फर्कनेमा विश्वस्त छौं । सुरुवातमा मैले उहाँको चोटबारे थाहा पाइन । तर उहाँ निको भएर खेलमा फर्कने आशा गरेको छु । नेयमारले कतिसम्म थेग्न सक्छन् हेरौं,’’ टिटेले भन्नुभयो ।
नेमारलाई खुट्टाको चोटको समस्या यसअघिदेखि नै थियो । सन् २०१८ को कोपा अमेरिका कपमा चोट बोक्नुभएका नेयमार त्यसपछि पनि चोटका कारण लामो समय मैदानबाहिर रहनुभएको थियो । सन् २०१० देखि ब्राजिल टोलीमा रहनुभएका ३० वर्षीय नेयमारलाई ढाडको चोटका कारण २०१४ को विश्वकपमा पनि समस्या परेको थियो ।
नेयमारले यस विश्वकपलाई आफ्नो अन्तिम विश्वकप भएको सङ्केतसमेत गर्नुभएको छ । सर्वाधिक पाँच पटकको विश्वकप विजेता ब्राजिललाई छैटौं पटक उपाधि दिलाएर नेयमार विश्वकपबाट आराम लिने सोचमा हुनुहुन्छ । तर, पहिलो खेलमै उहाँको बल्झिएको चोटले ब्राजिल चिन्तित छ ।
यद्यपि ब्राजिलले सर्बियालाई २–० गोलले हराउँदै कतार विश्वकपमा सुखद सुरुवात गरेको छ । बिहीबार ब्राजिललाई जिताउन दुवै गोल रिचार्लिसनले गर्नुभएको थियो । समूहको दोस्रो खेल ब्राजिलले मङ्सिर १२ गते स्वीट्जरल्यान्डसँग खेल्नेछ । एजेन्सी