असोज १४ ढोरपाटन । दसैँ सुरु भयो । विदेश भएका र बजार झरेका पनि गाउँ फर्किरहेका छन् । सहरदेखि गाउँसम्म दसैँको रौनिक निकै बढेको छ । बागलुङको ढोरपाटनका बाढीपीडितलाई भने दसैँको रौनकले कत्ति पनि छुन सकेको छैन । उनीहरुलाई आफन्त गुमाएको पीडा र घर बनाउँदाको ऋणले सताइरहेको छ । विसं २०७७ भदौ १७ गते राति भूजीखोलामा आएको भीषण बाढीले सयौँलाई घरबारविहीन बनाएको थियो भने कैयनलाई आफन्तविहीन बनाएको थियो ।
बाढीमा परी ३८ बढीले ज्यान गुमाउनुपरेको थियो । त्यो कहालीलाग्दो घटनाले बाढीपीडिलाई अहिले पनि झस्काइरहन्छ । बाढीले घरविहीन भएका पीडितले जसोतसो घर त बनाए तर ऋण भने तिर्न सकेका छैनन् । उनीहरूलाई दैनिक के खाउँ केलाउँ भन्ने पिरले सताइरहेका बेला दैलै अगाडि आएका चाडपर्वले थप पीडा दिएको छ ।
“दसैँ आयो, सबैका घरमा मीठा–मसिना पाक्न थाले, हाम्रो घरमा त बिहान बेलुकीको छाक टार्न पनि निकै सकस छ, बाढीले हामीहरूलाई बिचल्ली बनायो, काखको नानी बगायो, गरिखाने थातथलो बगायो”, बाढीपीडित कुलबहादुर विकले भन्नुभयो, “पहिले त जसोतसो चाडपर्व त राम्रोसँग बनाउँथ्यौँ, अहिले त मनले चाहेर मात्रै नहुने, मीठो–मसिनो पकाउने त टाढाको कुरा हो, बिहान बेलुकीको छाक टार्न पनि गाह्रो छ ।”
विकले विभिन्न सङ्घसंस्थाले सहयोग गरेको रु दुई लाख राहत पाएर घर बनाएको सुनाउँदै रु चार लाख आफूमाथि ऋण थुप्रिएको बताउनुभयो । विक घर नबनाएको भए ऋण नराख्ने भन्दै अहिले तिर्न नसकेर समस्या भइरहेको बताउनुहुन्छ ।
“सङ्घसंस्थाले सहयोग गरेको रु दुई लाख त पाइयो, प्रदेश सरकारले दिने भनेको रु ५० हजार आएन, राहत पाइएला भनेर घर बनाइयो, घर बनाउँदा रु छ लाख ऋण लाग्यो, चार लाख त मेरो काँधमाथि छ, बरु घर नबनाएर सानो छाप्रो बनाएर बस्नुपर्ने रहेछ, अहिले ऋणको ब्याज पनि तिर्न सकेको छैन, दिनदिनै ब्याज बढिरहेको छ”, विकले भन्नुभयो ।
बाढीले विकको घर, जग्गा जमिनसहित २२ वर्षका जेठो छोरा, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षीया नातिनी गरी चार जना बगाएको थियो । आफन्त र भएभरको सम्पत्ति गुमाएपछि विक्षिप्त बन्नुभएका कुलबहदुरका आँखा चाडपर्वमा परिवारका सदस्य सम्झिएर भिज्ने गर्छन् । यसबेला घरआँगनमा आएको चाडपर्वले बिर्सिन थालेको दर्दनाक पीडा बल्झाउने उहाँको भनाइ छ ।
“बाढीले मेरो जेठो छोरा, बुहारी, छोरी र नातिनी बगायो, अहिले पाँच जना छम्, मर्ने त मरिगइहाले, बाँचेकाले चाडबाड मनाउन र रङ्गरमाइलो गर्न खोज्छन्, साना–साना नानीहरूले मीठो खाने भन्छन्, राम्रो लाउने भन्छन्, मलाई बिहान बेलुकाको छाक कसरी टार्ने हो भन्ने पिर छ”, उहाँले भावुक हुँदै भन्नुभयो, “पैसा नहुँदा उनीहरुको इच्छालाई मार्नुपरेको छ, अरुका छोराछोरीले राम्रो लाएको मीठो खाएको देखेर होला, मैले पुर्याउन सकिनँ ।”
बाढीमा श्रीमतीसहित भएभरको सम्पत्ति गुमाउनुभएका ढोरपाटन नगरपालिका–९ का होमबहादुर विकलाई दसैँको रौनकले छुनै सकेको छैन । आफन्तलाई जग्गा मागेर घर बनाउनुभएका विकलाई दिनरात ऋणले सताएको छ । श्रीमती बाढीमा परेपछि दुई छोरा हुर्काउने, पढाउने जिम्मेवारी विकको काँधमा छ । साहुको दिनदिनैको कचकचले उहाँ निकै तनावमा हुनुहुन्छ ।
“सबैले दसैँ आयो भन्छन्, मलाई त दशा आएको छ, दुई भाइ छोरा छन्, उनीहरुले मीठो–मसिनो खान खोज्छन्, त्यही खुवाउन सक्ने मेरो अवस्था छैन, बाढीले घरसहित मेरो अंशमा पर्ने सबै सम्पत्ति बगाएको थियो, आफन्तले जग्गा दिएर ऋण धन गरेर घर बनाएँ”, विकले भन्नुभयो, “अहिले किन बनाएछु भन्ने भयो, साहुले दिनदिनै आएर छानो निकाल्छु भन्छन्, लाखौँ ऋण छ, कमाई केही छैन कसरी तिर्ने हो, निकै समस्यामा छु म ।”
बाढीमा जीवन सङ्गिनीसहित तीन सन्तान गुमाउनुभएका निमप्रकाश विकको पीडा पनि उस्तै छ । ज्याला मजदुरी गरे बिहान बेलुकीको छाक टार्दै आउनुभएका विकलाई पनि दसैँको चहलपहलले छोएको छैन । पच्चीस वर्षीया श्रीमती चनी विक, नौ वर्षीय जेठो छोरा, दुई वर्षीय माइलो छोरा र २२ दिनको कान्छो छोरासहित भएभरको जायजेथा सबै बगाएपछि विक अहिले घरबार र आफन्तविहीन हुनुहुन्छ । विकलाई अहिले एक्लो ज्यानसमेत पाल्न धौधौ भइरहेको बेला चाडपर्वले थप पीडा दिएको छ ।
“गरीखाउँ भने ठाउँ छैन, बस्ने घर छैन, यही बेला दसैँ आयो, दसैँले मलाई थप पीडा दिएको छ, सबैतिर रङ्गरमाइलो छ, मलाई बिहान के खाउँ बेलुकी के खाउँ भएको छ”, विकले भन्नुभयो, “परिवार हुँदा सबैलाई पाल्न सक्थेँ, अहिले एक्लो ज्यान पाल्न पनि साह्रै मुस्किल परेको छ, चाडपर्व आएको हो कि नआएको मलाई त केही पत्तो छैन, मन पिरैपिरले भरिएको छ, के को दसैँ, के को तिहार पहिलेको जस्तो रमझम छैन मलाई ।”
बाढीले ढोरपाटन वडा नं ६, ७, ८ र ९ का ३८ जनाको ज्यान लिएको थियो । तेइस जनाको शव फेला परे पनि १५ जना अहिलेसम्म बेपत्ता छन् । बाढीले एक सय ३१ घरमा क्षति पुर्याएको थियो भने ११ वटा जलविद्युत् आयोजनाको गृह तथा नहर, एक स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, ढलान पुल पाँचवटा, काठेपुल १० र दुई विद्यालयसमेत बगाएको थियो ।
ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले नगरपालिकाले उनीहरूका लागि पहिले राहतको व्यवस्था गरे पनि चाडपर्वका लागि कुनै सहयोग नगरेको बताउनुभयो । उहाँले राहत नपाएका पीडितलाई प्रदेश सरकारबाट आएको रकम वितरण गर्नका लागि पहल गरिरहेको बताउनुभयो ।
“बाढीपीडित अहिले पनि निकै समस्यामा हुनुहुन्छ, धेरैले राहत पाएका छन्, अझै केहीले पाएका छैनौँ भन्ने गुनासो गरेका छन्, प्रदेश सरकारबाट आएको राहत वितरणका लागि पहल थालेका छौँ”, उपप्रमुख कायतले भन्नुभयो, “चाडपर्वका लागि भनेर उनीहरूका लागि केही खर्च भने दिएका छैनौँ ।”