गण्डकी । नयाँ शैक्षिक सत्र सुरू भएपछि गण्डकी प्रदेशमा हालसम्म ६ लाख ४३ हजार ५३९ थान पाठ्यपुस्तक बिक्री भएको जनाइएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको गण्डकी प्रादेशिक कार्यालयका अनुसार ८ करोड ८३ लाख १३ हजार ८०० बराबरको पाठ्यपुस्तक बिक्री गरिएको हो । कार्यालयका सूचना अधिकारी शिवविलास पौडेलले प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तक पुगिसेकेको जानकारी दिए ।
‘माग भएजति पाठ्यपुस्तक स्थानीय बिक्रेतामार्फत जिल्लामा पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक प्रयाप्त छ,’ उनले भने । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री वितरण हुँदै आएको छ । पाल्पाको रामपुर क्षेत्रमा पनि पोखरास्थित कार्यालयबाट पुस्तक जाने गरेको सूचना अधिकारी पौडेलले बताए ।
शैक्षिक सत्र सुरू हुनुअगावै विद्यार्थीका हात पाठ्यपुस्तक पुगिसकेको उनको भनाइ छ । कार्यालयमार्फत मनाङमा ६ हजार ६७५, मुस्ताङमा ३हजार ८३०, लमजुङमा ३९ हजार ५९१, म्याग्दीमा ३९ हजार २५५, गोरखामा ६४ हजार ५४५, पर्वतमा ४४ हजार ११९, बागलुङमा १ लाख २ हजार ४२७, स्याङ्जामा ५१ हजार ८८३, कास्कीमा १ लाख ८२ हजार १०९ र पाल्पाको रामपुर क्षेत्रमा ३ हजार ५९२ थान पुस्तक बिक्री गरिएको हो ।