बिहीबार , असोज १५ गते २०८३

आज विश्व मुटु दिवसः

आज विश्व मुटु दिवसः

अखबार दैनिक
मंगलबार, असोज १३ २०८३
  • आज विश्व मुटु दिवसः

    ललितपुर, १३ असोजः आज विश्व मुटु दिवस । ‘कुनै पनि पल नछुटाउनुहोस्’ भन्ने नाराका साथ आज संसारभर विश्व मुटु दिवस मनाइँदैछ ।    
        
    विश्व हृदय महासङ्घ र विश्व स्वास्थ्य सङ्गठनले सन् १९९९ देखि सेप्टेम्बर २९ तारिखमा यो दिवस मनाउने घोषणा गरेपछि मुटु दिवस मनाउन थालिएको हो । सहरीकरण, अव्यवस्थित खानपान, जीवनशैलीमा आएको परिवर्तनले गर्दा मुटुसम्बन्धी विभिन्न जटिलता देखिएको स्वास्थ्यकर्मीले बताउँदै आउनुभएको छ ।    
         
    विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्ममा विश्वभर मुटु रोगबाट ज्यान गुमाउनेको सङ्ख्या बर्सेनि दुई करोड ५० लाख पुग्ने अनुमान गरेको छ । विश्व मुटु महासङ्घका अनुसार मुटुको रोगबाट विश्वभर एक करोड ७५ लाखको ज्यान जाने गरेको छ ।    
        
    नेपाललगायतका विकासोन्मुख देशमा हृदयघात भएर मर्नेको सङ्ख्या ३५ प्रतिशतभन्दा बढी पुग्ने अनुमान छ । नेपालमा अहिले २५ प्रतिशत अर्थात् झन्डै ७५ लाख नागरिक कुनै न कुनै प्रकारका मुटुरोगबाट पीडित छन् ।    
        
    मुटुरोगीको सङ्ख्या नेपालमा १० वर्षयता पाँच गुणाले बढेको छ । दश वर्षअघिसम्म ५० वर्ष नाघेपछि मुटुसम्बन्धी समस्या देखिने गरेकामा अहिले युवाअवस्थामै मुटुसम्बन्धी समस्या देखिन थालेको विभिन्न तथ्याङ्कमा उल्लेख छ ।    
        
    वरिष्ठ कार्डियोथोरासिक (मुटु) सर्जन, प्राध्यापक डाक्टर भगवान् कोइरालाका अनुसार मुटुरोग तथा अन्य नसर्ने रोगको जोखिम न्यूनीकरणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण, धुमपान तथा मदिरापान नियन्त्रण र दैनिक व्यायमलाई जीवनशैलीको अभिन्न हिस्सा बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।    
        
    नेपालमा मुटुरोगको उपचार सेवा विस्तार भए पनि रोगको जोखिम बढिरहेकाले उपचारसँगै रोकथाममा विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले जनचेतनामूलक अभियान र स्वास्थ्यसम्बन्धी हस्तक्षेपले धेरै मानिसलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने धारणा राख्नुभयो ।    
        
    धुमपानले शरीरका विभिन्न अङ्गमा गम्भीर असर गर्ने उल्लेख गर्दै धुमपान त्याग्नु, खानपानमा सचेत हुनु र नियमित व्यायाम गर्नु स्वस्थ तथा दीर्घजीवनका लागि आवश्यक रहेको छ । नियमित व्यायामले तौल, रक्तचाप र मधुमेह नियन्त्रणमा सहयोग पुग्नका साथै तनाव तथा मानसिक स्वास्थ्य व्यवस्थापन, स्मरणशक्ति र शारीरिक सक्रियता सुधार गर्नसमेत योगदान पुर्याउने उहाँको भनाइ थियो ।    
        
    छातीको बीच भागमा गह्रौँ वस्तुले थिचेजस्तो दुखाइ हुनु, दुखाइ बायाँ हाततर्फ सर्नु, चिटचिट पसिना आउनु तथा वाकवाकी र बान्ता हुनु हृदयाघातका प्रमुख सङ्केत हुनसक्ने डाक्टरहरुको भनाइ छ ।    
        
    हृदयघात हुँदा पेटको बीच भागमा अत्यधिक दुखाइ, डर लाग्ने, मुटुको धड्कन बढेको महसुस हुने तथा अचानक असहजता देखिन सक्ने बताइएको छ ।    
        
    हृदयघातको जोखिम घटाउन धुम्रपान नगर्ने, मदिरा सेवनबाट बच्ने, कोलेस्ट्रोल, रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने तथा शरीरको तौल सन्तुलित राख्नुपर्ने सुझाव चिकत्सकहरूले दिनुभएको छ ।    
        
    त्यस्तै फलफूल र सागसब्जी समावेश भएको खानेकुरा खाने, मानसिक तनाव र रिस व्यवस्थापन गर्ने, वायु प्रदूषणको सम्पर्क सकेसम्म कम गर्ने र नियमित शारीरिक गतिविधि गर्ने बानीले मुटु स्वस्थ राख्न सहयोग पुग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ