वासिङ्टन, १५ असोज अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का सुरक्षा अभ्यासबारे एन्थ्रोपिक र ओपनएआईमाथि व्यापक अनुसन्धान सुरु गरेको छ । ‘द वासिङ्टन पोस्ट’ ले बुधबार एफटीसीका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अनुसन्धानबारे जानकारी दिएको हो ।
अमेरिकामा उपभोक्तालाई असर पार्ने अनुचित तथा भ्रामक अभ्यासको अनुसन्धान गर्ने एफटीसीलाई व्यापक अधिकार रहेको छ । यद्यपि अनुसन्धानको विस्तृत दायरा सार्वजनिक गरिएको छैन र अनुसन्धान सुरु हुँदैमा सम्बन्धित कम्पनीहरूले कुनै गलत काम गरेको आरोप प्रमाणित हुने अर्थ नलाग्ने अधिकारीले स्पष्ट गरेका छन् ।
एआई सुरक्षाबारे विश्वव्यापी चिन्ता बढिरहेका बेला एफटीसीको अनुसन्धान अघि बढेको हो । एन्थ्रोपिक र ओपनएआई दुवैले आफ्ना एआई प्रणाली निर्धारित वातावरणभन्दा बाहिर सञ्चालन भएका घटनाबारे जानकारी दिएका छन् ।
त्यस्ता घटनामध्ये ओपनएआईका एजेन्टहरू अर्को एआई कम्पनी ‘हगिङ फेस’ को प्रणालीमा प्रवेश गर्ने क्रममा स्यान्डबक्सबाट बाहिरिएको घटनासमेत रहेको छ । एआई प्रणालीलाई निश्चित सीमाभित्र सञ्चालन गराउन प्रयोग गरिने सुरक्षा वातावरणबाट बाहिरिनुलाई सुरक्षासम्बन्धी चिन्ताको विषय मानिएको छ ।
ओपनएआईले एआई सुरक्षासम्बन्धी चिन्ताका कारण सोमबार एउटा मोडल सार्वजनिक गर्ने निर्णयसमेत रद्द गरेको छ । यसैबीच एन्थ्रोपिक र ओपनएआईका अधिकारीहरूले एआई सुरक्षा उपाय थप बलियो बनाउन समन्वयात्मक रूपमा विकासको गति केही समय सुस्त बनाउने प्रस्तावसमेत अघि सारेका छन् ।
एफटीसीको अनुसन्धानले एआई कम्पनीहरूले विकास गरिरहेका प्रविधिको सुरक्षा, उपभोक्तामाथि पर्न सक्ने प्रभाव तथा कम्पनीका सुरक्षा अभ्यासप्रति अमेरिकी नियामक निकायको चासो बढेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस