बिहीबार , असोज ८ गते २०८३

असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेनद्वारा सतर्क रहन आग्रह

असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेनद्वारा सतर्क रहन आग्रह

अखबार दैनिक
बुधबार, असोज ७ २०८३
  • असोज ९ देखि ११ सम्म भारी वर्षाको सम्भावना, प्रधानमन्त्री बालेनद्वारा सतर्क रहन आग्रह

    काठमाडौं, ७ असोज, प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सम्भावित वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव, डुबान तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन्।

    मौसम विज्ञान विभागका अनुसार असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि अति भारी वर्षा हुन सक्ने सम्भावना छ।

    गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ। त्यस्तै कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

    पोखरा आसपास, लुम्बिनीका पहाडी तथा तराई क्षेत्र, कोशीको ताप्लेजुङलगायत हिमाली भूभाग, बागमतीको पहाडी क्षेत्र, कर्णालीको जुम्ला आसपास तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बाढी, पहिरो, डुबान र सडक अवरोधको जोखिमप्रति विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

    प्रधानमन्त्री शाहले पानी परिरहेको समयमा र रातको समयमा सकेसम्म राजमार्गमा यात्रा नगर्न तथा पहिरो र बाढीको जोखिम भएका क्षेत्र एवं नदी–खोला आसपासमा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।

    त्यस्तै ट्रेकिङ तथा हिमाली क्षेत्रमा जाने योजना बनाएका व्यक्तिहरूलाई मौसममा सुधार नआएसम्म यात्रा स्थगित गर्न वा पुनर्विचार गर्न पनि उनले अनुरोध गरेका छन्।

    मौसम विज्ञान विभाग तथा स्थानीय प्रशासनबाट जारी हुने सूचना नियमित रूपमा हेर्न र आवश्यक अवस्थामा सम्बन्धित निकायको निर्देशन पालना गर्न प्रधानमन्त्री शाहले नागरिकलाई आग्रह गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ