बुधबार, असोज ७ गते २०८३

बीस दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

बीस दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

अखबार दैनिक
बुधबार, असोज ७ २०८३
  • बीस दिनमा दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन

    मुस्ताङ, ७ असोजः मुस्ताङ भन्सार कार्यालयले २० दिनमा रु दुई अर्ब ५४ करोड ९३ लाख राजस्व सङ्कलन गरेको छ ।    
        
    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रुपमा बन्द भएपछि नेपाल–चीन उत्तरी कोरलानाका हुँदै पैठारी गरिएका मालवस्तुबापत २० दिनमा उक्त राजस्व जम्मा भएको हो । रसुवाको भोटेकोशी बाढीपछि अधिकांश मालवस्तु कन्टेनर तथा विद्युतीय सवारी (इभी) गाडी र कन्टेनर रसुवागढी—केरुङ नाकाबाट रुट परिवर्तन भई कोरलानाका हुँदै नेपाल भित्रिएका हुन् ।    
        
    कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार भदौ १० गतेपछि कोरलानाकाबाट भित्रिएका ५६४ कन्टेनर र एक हजार ९० विद्युतीय सवारी (इभी) गाडीको भन्सार जाँचपास भएको जानकारी दिनुभयो ।    
        
    केरुङनाकाबाट रुट परिवर्तन भएका र कोरलानाकाबाट नियमित पैठारी हुने मालवस्तुबाट अहिलेसम्मकै छोटो समयमा धेरै राजस्व जम्मा भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । नेपाल–चीनतर्फका प्रमुख व्यापारी नाका रसुवागढी र तातोपानी नाका पूर्ण रुपमा बन्द अवस्थामा छ । यस्तो अवस्थामा चीनबाट पैठारी गरिने एकमात्रै वैकल्पिक मार्गका रुपमा कोरलानाका बनेको छ ।    
        
    रसुवागढी नाका पूर्ण रुपमा बन्द नहुँदै भदौ १० गते अघि चालु वर्षको साउन र भदौको ९ गतेसम्म मुस्ताङ भन्सार कार्यालयबाट जम्मा रु ५३ लाख मात्रै राजस्व सङ्कलन भएको थियो । यस अवधिको चालीस दिनमा कोरलानाकाबाट भित्रिएका १६३ वटा विद्युतीय सवारी (इभी) गाडी र १३३ वटा मालवस्तु कन्टेनरको मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भएको थियो ।    
        
    मुस्ताङ भन्सारका अनुसार चालु वर्षको साउन र भदौ महिनामा गरी रु तीन अर्ब सात करोड ९३ लाख राजस्व सङ्कलन भएको छ । प्रमुख चुडालले पहिलो साउन महिनामा रु २६ करोड ३९ लाख राजस्व मुस्ताङ भन्सार कार्यालयमा सङ्कलन भएकोमा दोस्रो भदौ महिनामा रु दुई अर्ब ८१ करोड ५४ लाख राजस्व सङ्कलन भएको हो ।    
        
    मुस्ताङ भन्सारका अनुसार चालु वर्षको पहिलो साउन महिनामा सय वटा विद्युतीय सवारी (इभी) गाडी (लिजी–न्हेचुङ) कोरलानाका हुँदै नेपाल भित्रिदा रु १७ करोड ३४ लाख राजस्व सङ्कलन भएको थियो ।    
        
    यसैगरी चालु वर्षको भदौ महिनामा एक हजार २५३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिदा रु एक अर्ब ९३ करोड ९७ लाख राजस्व सङ्कलन भएको भन्सार प्रमुख चुडालले बताउनुभयो । यस्तै चालु वर्षको साउनमा ५७ र भदौ महिनामा ६९७ वटा मालवस्तु कन्टेनर कोरलानाका हुँदै नेपाल भित्रिएका थिए ।    
        
    मुस्ताङ भन्सार कार्यालयले गत आव २०८२÷०८३ को बाह्र महिनामा रु छ अर्ब ९२ करोड राजस्व जम्मा गरेको थियो । त्यस वर्ष कोरलानाकाबाट तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन (इभी) गाडी नेपाल भित्रिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ