बाराको सिमरामा हिजो भएको झडपको विषयलाई लिएर आज पनि तनाव बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले फेरि कर्फ्यु लगाएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जारी गर्नुभएको सूचनामा सिमरा विमानस्थल र आसपासको क्षेत्रमा आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुने गरी कर्फ्यु लगाएको उल्लेख छ । अहिले पनि सिमरा क्षेत्र तनावग्रस्त छ ।
हिजो आफूहरूले शान्तिपूर्ण प्रदर्शन गरेका बेला कुटपिट गरी झडपको अवस्था निम्ताएको भन्दै जेनजी समूहले प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा उल्लेख व्यक्तिलाई पक्राउ गर्नुपर्ने माग गर्दै जेनजी समूहले प्रदर्शन थालेपछि प्रशासन कार्यालयले कर्फ्यु लगाएको हो ।
जाहेरी दिएकामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । जीतपुर सिमरा उपमहानगरपालिका–२ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ र वडा–६ का अध्यक्ष कैमुदिन अन्सारीलाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । उनीहरू दुवै जना एमालेबाट निर्वाचित हुन् ।

