बाराको सिमरामा आज पनि तनाब उत्पन्न भएको छ । बुधबारको घटनालाई लिएर आज (बिहीबार) फेरि तनाब बढेको हो । आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो ।
स्थिति तनाबग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । तर, बुधबारको तुलनामा कर्फ्यू सीमित क्षेत्रमा मात्रै कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ । बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई सम्बोधन गर्न जाने क्रममा पार्टी महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलगायतलाई रोक्न भन्दै जेनजी समूहले विरोध गरेपछि स्थित बिग्रिएको थियो । विरोधका कारण पोखरेल र बस्नेत सिमरा जानै नपाई त्रिभुवन विमानस्थलबाटै फर्किएका थिए । स्थिति तनावग्रस्त भएपछि बुधबार पनि विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यू लगाइएको थियो ।
