आइतबार, असोज ४ गते २०८३

दसैँमा रङ्गिन माटोबाट अतिरिक्त आम्दानी

दसैँमा रङ्गिन माटोबाट अतिरिक्त आम्दानी

आइतबार, असोज २० २०८१
  • दसैँमा रङ्गिन माटोबाट अतिरिक्त आम्दानी

    दसैँ स्स्पर्वमा रङ्गिन माटो बेची मधेशका गरिब तथा श्रमजीवी वर्गले अतिरिक्त आयआर्जन गर्ने गरेका छन् । दसैँ पर्वका अवसरमा महोत्तरीको विपन्न बस्तीका गरिब श्रमिक माटो बेचेर अतिरिक्त आम्दानी गर्दैछन् । यसै अवसरमा विभिन्न रङ्गका माटोले घर पोतेर चिटिक्क टल्कने बनाउने मधेशको स्थापित परम्पराले अहिले गरिब बस्तीका श्रमिक माटो खन्न टाढाटाढासम्म पुग्ने गरेका छन् । यो कार्यमा महिला बढी देखिने गरेका छन् ।

    अहिले १०/२० जनासम्मको समूहमा महिला माटो खोज्न चार/पाँच घण्टाको बाटो छिचोलेर चुरे पाहाडका रातो माटोका थुम्का खोस्री रहेका भेटिन्छन् । दसैँमा घर पोत्ने प्रयोजनका लागि कमेरे, चिम्टिलो पहेँलो र रातो माटोको माग हुने भएपछि विशेषगरी गरिब बस्तीका महिला अहिले विभिन्न रङ्गका माटो खन्ने, ओसार्ने र मागकर्ताकहाँ पु¥याउने काममा लागेका छन् ।

    मधेशका अधिकाङ्श भित्री बस्तीमा बाँसका चोयाको बारका भित्ता भएका घर हुन्छन् । यस्ता घरका भित्ता बर्सेनि दसैँ, तिहार र छठ पर्वअघि माटोले पोतेर रङ्ग्याउने चलनले यी पर्वमा विभिन्न रङ्का माटोको माग बढ्छ । यसै अवसरलाई अहिले गरिब बस्तीका महिलाले अतिरिक्त नगद जोहोमा प्रयोग गर्ने गरेका हुन् ।

    अहिले फरक–फरक रङ्का माटोको खोजी गर्ने समूहको गन्तव्य नदीले दह जमाएका ठाउँको डिल, पुराना पोखरी र चुरे पाहाडक्षेत्रका रातो माटोका थुम्का भएका छन् । “कमेरे र पहेँलो चिम्टिलो माटो खोज्न नदी गहिरिएको डिल र पुराना पोखरी खोज्नुपर्छ, रातो माटो लिन चाँही चुरे नै पुग्नुपर्छ” पर्वकाबीच भङ्गाहा–४ पलारबस्ती नजिकैको रातु कान्लामा पहेँलो र कमेरेमाटो खन्दै गरेकी पलार बस्तीकै सियानकीदेवी बाँतरले भन्नुभयो,“यही मेहनतले आफ्नो घर पोत्न र दसैँ खर्चको नगद जोहो गर्न माटो लगिन्छ । करिब ४० केजीको एक बोरा माटो लान सके आफ्नो घर पोतेर पनि एक/दुई हजार रुपैयाँ नगद बनाइ गर्जो टार्न सकिन्छ की भनी यसरी काम गरिरहेकी छु ।”

    चाडपर्व सुरु भइसकेको अवस्थामा परिवारका सदस्यको सहयोग लिएर गरिब बस्तीका महिला माटो सङ्कलन तथा बिक्रीवितरणमा व्यस्त छन् । “हेर्नोस न, दसैँले छोपी त हाल्यो, अहिले अलिकति मेहनेत गरे त दुई/चार पैसाको मुख देख्न पाइने छ नि १” यसैगरी भङ्गाहा–६ जमुनियाँकी प्रेमकली चौधरी भन्नुहुन्छ, “यसले घरका नानीहरुको फर्माइस पूरा गर्न सघाउँछ ।”

    मधेशका खासगरी थारू बस्तीमा अहिले माटो सङ्ग्रहको होड छ । थारु महिला विभिन्न रङ्को माटोले घर पोत्न, कुन रङ्को माटो कसरी मिलाएर पोत्ने भन्ने र घर सरसफाइका काममा पोख्त मानिन्छन् । “हेर्नोस् न, हाँस/कुखुरा र परेवा पनि घरघरैजसो पालैकै हुन्छन्, तर थारू बस्तीका घर पुग्दा भूइँमै बसौँंबसौँं लाग्ने चिटिक्क देखिन्छ”

    भङ्गाहा–४ थारूटोल बनराका विष्णुबहादुर बुढाथोकी भन्नुहुन्छ, “घर सरसफाइ, रङ्गरोगन र सजावटमा थारू महिला सधैँ उम्दा देखिन्छन् ।” दसैँमा थारू महिलाको साथसङ्तले अन्य जाति–समुदायका गरिब महिला पनि अहिले माटो सङ्ग्रहमा लागेका छन् । माटो जम्मा गर्नसकै मेलामा रमाउन र स–साना नानीहरुको खानपिनको रहर पु¥याउन सहयोग पुग्ने यस काममा लागेका श्रमिक महिलाको भनाइ छ ।

    मधेशका ग्रामीण बस्तीमा बाँसका कच्ची घर बढी हुने र तिनका भित्ता बाँसका चोया र कर्चीबाट बन्ने हुँदा लिपपोत माटोले नै गरिन्छ । प्रत्येक वर्षको , तिहार र छठमा घर पोत्ने चलनले गरिब बस्तीका महिलालाई माटो बेचेर दुई/चार रुपैयाँ आर्जनको अवसर बनेको हो । अहिले सङ्ग्रह गरिएको माटो तिहार र छठमा पनि बिक्री हुने श्रमिक महिला बताउँछन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ