आइतबार, असोज ४ गते २०८३

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

अखबार दैनिक
आइतबार, असोज ४ २०८३
  • हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

        
    सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन सुरुआती वर्षमा नेतृत्व गरेका हङकङका पहिलो प्रमुख कार्यकारी तुङ ची–ह्वाको आइतबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।    
        
    अन्त्येष्टि समारोहमा चिनियाँ अधिकारी तथा हङकङका राजनीतिक नेताहरू सहभागी भएका थिए । सन् १९९७ मा बेलायतबाट चीनलाई हस्तान्तरण गरिएपछि हङकङमा आयोजना गरिएको यो तेस्रो राजकीय अन्त्येष्टि हो । 

       
     सन् १९९७ देखि २००५ सम्म हङकङको प्रमुख कार्यकारी रहेका तुङको ८९ वर्षको उमेरमा सेप्टेम्बर ८ मा निधन भएको थियो । ढुवानी व्यवसायी तुङले आफ्नो करिब आठ वर्षे कार्यकालमा एसियाली वित्तीय सङ्कट, सार्स महामारी र व्यापक जनप्रदर्शनको सामना गर्नुभएको थियो ।    
        
    अन्त्येष्टिस्थल हङकङ फ्युनरल होम बाहिर फूलका माला राखिएका थिए । हङकङका सञ्चारमाध्यमले प्रत्यक्ष प्रसारण गरेको भिडियोमा समारोहपछि चिनियाँ झन्डाले छोपिएको तुङको शव बाहिर ल्याइएको देखाइएको थियो । सञ्चारकर्मीलाई भने समारोहस्थलभित्र प्रवेश गर्न दिइएको थिएन ।     
     चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो सदस्य सी ताइफेङ, चीनको हङकङ तथा मकाउ मामिला कार्यालयका निर्देशक सिया बाओलोङ र हङकङका वर्तमान प्रमुख कार्यकारी जोन ली अन्त्येष्टि स्थलबाट सँगै बाहिरिनुभएको थियो ।    
        
     एक सहभागीका अनुसार समारोहमा करिब २०० जनालाई आमन्त्रण गरिएको थियो । अन्य व्यक्तिले हङकङका तीन स्थानमा बनाइएका श्रद्धाञ्जलीस्थलमा पुगेर तुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।    
        
    तुङको निधनपछि चिनियाँ सरकारले उहाँलाई कम्युनिस्ट पार्टीका निकट मित्र तथा ‘एक देश, दुई प्रणाली’को कार्यान्वयनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तिका रूपमा चित्रण गरेको थियो । यही व्यवस्थाअन्तर्गत हङकङ र मकाउको शासन सञ्चालन हुँदै आएको छ ।    
       

     तुङले पद सम्हालेको केही समयपछि हङकङको अर्थतन्त्र एसियाली वित्तीय सङ्कटबाट प्रभावित भएको थियो । सन् २००३ मा सार्स महामारीका कारण हङकङमा करिब ३०० जनाको मृत्यु भएको थियो भने अर्थतन्त्रमा पनि ठूलो असर परेको थियो ।    
        
    त्यसै वर्ष नागरिक स्वतन्त्रताका लागि खतरा मानिएको राष्ट्रिय सुरक्षा कानुन लागू गर्ने सरकारको योजनाको विरोधमा करिब पाँच लाख मानिस सडकमा उत्रिएका थिए । व्यापक विरोधपछि सरकारले उक्त योजना स्थगित गरेको थियो। तुङले सन् २००५ मा स्वास्थ्यको कारण देखाउँदै पदबाट राजीनामा दिनुभएको थियो ।    
       

     सन् २००३ को उक्त प्रदर्शनले हङकङमा लोकतन्त्रसमर्थक आन्दोलनको शृङ्खलालाई गति दिएको थियो । ती आन्दोलन सन् २०१९ मा उत्कर्षमा पुगेका थिए । त्यसपछि सरकारले कडा कदम चालेको थियो भने सन् २०२० मा चीनले हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेको थियो ।    
        
    पदबाट हटेपछि तुङ चीनको सर्वोच्च राजनीतिक सल्लाहकार निकाय चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष बन्नुभएको थियो । देशका लागि पु¥याएको योगदानको कदरस्वरूप सन् २०१९ मा राष्ट्रिय पदक तथा सम्मान प्राप्त गर्ने ४२ जनामध्ये तुङ पनि एक हुनुहुन्थ्यो ।     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ