आइतबार, असोज ४ गते २०८३

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

आइतबार, असोज २० २०८१
  • चाडपर्व नजिकिएसँगै घर फर्कंदै नेपाली

    नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म धनगढीले जनाएको छ ।

    त्रिनगर सीमा नाकाबाट एक सातामा छ हजार नौ सय ४७ जना नेपाली भित्रिएका सीमा सुरक्षा गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक राजेश उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार यही असोज १२ गते तीन सय १८, १३ गते तीन सय चार, १४ गते तीन सय ९८, १५ गते छ सय तीस, १६ गते छ सय ८०, १७ गते एक हजार ९०, १८ गते एक हजार पाँच सय ६९ र १९ गते एक हजार नौ सय ५८ जना नेपाली भारतका विभिन्न सहरबाट घर फर्किएका हुन् ।

    यात्रुहरुको आवतजावतमा सहजताका लागि बडादसैँ, तिहार र छठपर्वसम्म सीमा नाकामा यात्रु सहायता कक्षसमेत निर्माण गरिएको छ । बाजुराका मनोज कडारा पाँचजना परिवारसहित सोही नाकाबाट घर फर्कनुभएको छ । दश वर्षदेखि भारतको मुम्बईमा सेक्युरिटी गार्डको जागिर गर्दै आउनुभएका कडाराले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।

    भन्सार सीमा नाकामा हेल्प डेक्स निर्माणसँगै घर फर्कंदा पहिला भन्दा धेरै सहज भएको उहाँको भनाइ छ । “चाडपर्वमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने, मिठामिठा स्थानीय खानाका परिकार खाइ रमाइलो गरी मनाउने गरिन्छ”, कडाराले भन्नुभयो, “जसले घर बाहिर लामो समय एक्लो भएर बस्दाको तनाब कम हुन्छ ।”

    भारतको राजकोटबाट रोजगारी गरी घर फर्कंदै गरेकी कैलालीको बौनियाकी शारदा साउदले बडादसँैंमा टीका थाप्नुका साथै पारिवारिक भेटघाट र खेतीपाती भित्र्याउन आफू घर फर्केको बताउनुभयो । भारतको मुम्बईमा होटलमा रोजगारी गरी फर्कंदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका रोशन विश्वकर्माले चाडपर्व मनाउनका लागि घर फर्केको बताउनुभयो ।

    यस क्षेत्रका सर्वसाधारण युवा रोजगारी गर्न छिमेकी मुलुक भारत जाने गर्दछन् । खेतीपाती भएकाहरु आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिञ्जेल भारतमा काम गर्न जाने र फसल प्राप्त हुने समयमा घर आउने गर्दछन् भने खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि चाडवाड मनाउन घर आउने गरेका पाइन्छन् ।

    सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत पहाडी जिल्लाका मानिस रोजगारका लागि भारतको मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबादलगायत ठूला सहरमा जाने गर्दछन् । बिना भिसा जान पाइने र रोजगारी पनि सहजै प्राप्त हुने भएकाले पनि धेरैजसो नेपाली रोजगारीका लागि भारत जाने गरेका हुन् । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ