काठमाडौं । सेन्ट्रल एशियन भलिबल एशोसिएसन (काभा) नेसन्स लिगको उपविजेता नेपाली महिला राष्ट्रिय भलिबल खेलाडीलाई काठमाडौं महानगरपालिकाले जनही एक लाख रूपैयाँका दरले पुरस्कार दिएको छ । महानगरपालिकाका प्रमुख बालेन शाहले बिहीबार खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।
बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग नेपाल पराजित भएको थियो । १४ खेलाडीलाई जनही एक लाख रुपैयाँ प्रदान गरिंदा टिम म्यानेजर, मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक र फिजियोलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान पत्र प्रदान गरिएको छ ।
खेल सकिएको भोलिपल्ट नगदसहितको सम्मान प्रदान गर्दै प्रमुख शाहले खेल विकासका लागि खेलाडीको प्रयत्नलाई नतिजामा रुपान्तरण गर्न सरकारी संयन्त्रले काम गर्नुपर्ने खाँचो रहेको बताएका छन् । सम्मान प्राप्त गर्ने खेलाडीमा कप्तान अरुणा शाहीसहित निरुता ठगुन्ना, शान्तिकला तामाङ्, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, साफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सलिना श्रेष्ठ छन् । टिम म्यानेजर निलमसिंह बज्राचार्य, मुख्य प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादव र फिजियो लोकेन्द्रबहादुर कुँवरले पुरस्कार पाए ।
‘उपविजेता टोलीले हामी जस्ता सरकारी संयन्त्रलाई खेलको पूर्वाधार, खेलमैत्री वातावरण र खेलाडीको क्षमता विकासमा काम गर्न ध्यानाकर्षण गएको छ । यो विषय छुटेको महसुस गराएको छ । यसमा हामी काम गर्नेछौँ,’ सम्मानका क्रममा प्रमुख शाहले धारणा राखे । बुधबार भएको फाइनल खेलमा ३–२ सेटले भारत विजेता र नेपाल उपविजेता भएका थिए । लिगमा नेपालले भारतमाथि विजय गरेको थियो । प्रतियोगितामा नेपालसहित ५ टोली सहभागी थिए ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    